संरक्षण नहुँदा गिद्ध संकटमा



बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा संकटमा परेका छन् । बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध संकटमा परेका हुन् ।

पाटन नगरपालिका–८ सिद्धनाथधाम क्षेत्र, पाटन–३, ४, ८, ९ र १०, सिगास गाउँपालिका–७ र ८ र पुर्चौडी नगरपालिकाका केही क्षेत्रलाई गिद्धको मुख्य तथा उपयुक्त बासस्थानका रूपमा लिइन्छ । मुख्य बासस्थान क्षेत्रमै गिद्ध देखिन छाडेका नेपाल पक्षी संरक्षण संघका चराविज्ञ हिरुलाल डगौराले बताए । विभिन्न अध्ययन तथा अनुसन्धानका अनुसार केही समययता गिद्ध मुख्य बासस्थानमै देखिने छाडेका छन् ।

उनले भने, ‘अतिसंकटापन्न सूचीमा रहेको गिद्धको संरक्षण हुन नसक्दा संकटमा परेका छन्, केही वर्षयता गिद्ध कम देखिन थालेका छन्, पहाडी क्षेत्रमा गिद्ध संकटमा पर्नु आगलागी र आहारा अभाव मुख्य कारण हो ।’

फागुनदेखि जेठसम्म प्रजनन गराउने समय रहेकाले यही समयमा आगलागीका घटना बढ्ने गरेकाले गिद्ध लोप हुँदै गएका हुन् । डगौराले भने, ‘प्रजनन समयमा आगलागीका घटना बढी हुने गरेकाले गिद्ध संकटमा परेका छन्, आहार र बासस्थानको कमी भएपछि पलायन हुने गर्छन् ।’ प्रायः सिमलको रुखमा गुँड बनाउने गिद्धका लागि गुँड बनाउने ठुल्ठूला रुख नभएकाले लोप हुँदै गएको बताइन्छ ।

डाइक्लोफेनेकसँगै किटोप्रोफेन, निमुस्लाइड (जनावरमा दुखाइ कम गर्ने औषधि) जस्ता औषधिको प्रयोगले पनि गिद्धको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउँदा पनि गिद्ध संरक्षणमा चुनौती थपिएको चराविज्ञ बताउँछन् । साथसाथै आहाराको खोजीमा रहेका गिद्ध हाइटेन्सन विद्युत् लाइनमा ठोक्किएर मर्ने गरेका डगौराको भनाइ छ ।

चरा विज्ञका अनुसार बैतडीमा हिमाली, हाडफोर, गोब्रे (सेतो गिद्ध), राजगिद्ध, सुनगिद्ध, डङर तथा सानो खैरो गिद्ध पाइन्छन् । गिद्ध आफैंले सिकार नगरीकन मरेका जनावर तथा सिनो खाने गर्छन् । उनीहरुले फोहर तथा हानिकारक मासुजन्य सिनो खाएर वातावरणलाई प्रदूषित बनाउनबाट जोगाउने गरेका छन् । गिद्धमा हानिकारक तत्वलाई पचाउन सक्ने क्षमता हुने भएकाले वातारवरणलाई स्वच्छ राख्न उनीहरुबाट मद्दत पुगेको हो ।

गिद्ध संरक्षणका लागि तीनवटै तहका सरकारले कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक छ । सरकारले गिद्ध संरक्षणका लागि छुट्टै कार्यक्रम सञ्चालन नगरेकाले पनि यस्तो समस्या आएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । उनले भने, ‘पर्यावरण जोगाउन गिद्धको ठूलो भूमिका छ, गिद्ध संरक्षणका लागि सरकारले ठोस कार्यक्रम ल्याउन सकेको छैन।’

संरक्षणका लागि पहल हुनसके गिद्ध लोप हुने दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका हेमराज गिरी बताउँछन् । उनले भने, “गिद्धले मरेको सिनो खाएर प्रकृति सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिले पनि यसको संरक्षण जरुरी छ, यसका लागि गिद्धको संरक्षण आवश्यक छ ।’

गिद्ध संरक्षण गर्न वन कार्यालयले सिमलको रुख कटानीमा रोक लगाई नयाँ वृक्षारोपणको अभियानमा सिमललाई प्राथमिकता दिनुपर्नेमा गिरीको जोड छ ।

चुच्चो, नाङ्गो तथा लामो गर्धन देख्दा घिनलाग्दो र भद्दा जिउडाल रहे पनि यो पर्यावरणका लागि ठूलै भूमिका भएको पन्छी हो । यसको ठूलो धार्मिक महत्व पनि छ ।

गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहोर पदार्थ खाएर वातावरणलाई प्रदूषणमुक्त, दुर्गन्धमुक्त तथा रोगमुक्त बनाउन भूमिका खेलेको हुन्छ । धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनिदेवताको वाहनका रूपमा पुजिन्छ ।


क्लिकमान्डु