सेयर धितोमा जाने कर्जा ५ अर्ब ७१ करोड रुपैयाँले घट्यो



काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा सेयर धितोमा जाने कर्जा ७.१ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको ७ महिनामा सेयर धितो राखेर सेयर लगानीकर्ताहरुले ७४ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ कर्जा लिएका छन् ।

असार मसान्तमा सेयर लगानीकर्ताले ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ कर्जा लिएका थिए । ७ महिनाको अवधिमा सेयर धितोमा जाने कर्जा ५ अर्ब ७१ करोड १० लाख रुपैयाँले घटेको छ ।

केन्द्रीय बैंकका अुनसार ५० लाखदेखि १ करोडसम्म जाने सेयर धितोकर्जाको सीमा बढेको छ । यस्तै १ करोडदेखि माथि, २५ देखि ५० लाख र २५ लाखभन्दा कम रकमको कर्जा घटेको छ ।

राष्ट्र बैंकका अनुसार ७ महिनाको अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्म जाने सेयर धितो कर्जा ६.३ प्रतिशतले बढेर ११ अर्ब २२ करोड १८ लाख रुपैयाँ पुगेको छ । जुन असार मसान्तमा १० अर्ब ५६ करोड ३० लाख रुपैयाँ थियो ।

यस्तै १ करोडदेखि माथिको सेयर धितोमा जाने कर्जा ७.३ प्रतिशतले घटेर ४३ अर्ब १६ करोड ७८ लाख रुपैयाँ छ । असार मसान्तमा ४६ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

यस्तै २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा १६.३ प्रतिशतले घटेको छ । असार मसान्तसम्म सेयर लगानीकर्ताले १५ अर्ब २० करोड ८ लाख रुपैयाँ कर्जा लिएका थिए । माघ मसान्तमा आइपुग्दा १६.३ प्रतिशतले घटेर १२ अर्ब ६५ करोड ५२ लाख रुपैयाँ छ ।

त्यस्तै २५ लाख रुपैयाँभन्दा कम सेयर धितोमा जाने कर्जा पनि ५.१ प्रतिशतले घटेको छ । असार मसान्तसम्ममा बैंकहरुले ८ अर्ब १७ करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेका थिए । माघ मसान्तसम्म ५.१ प्रतिशतले घटेर ७ अर्ब ७५ करोड २९ लाख रुपैयाँमा झरेको छ । सेयर बजारमा देखिएको गिरावटको असर सेयर धितो कर्जामा पनि परेको हो ।


क्लिकमान्डु