आईपीओ निष्कासन गरेको सानिमा मिडिल तमोर हाइड्रोको कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको कम्पनीले मध्य तमोर जलविद्युत आयोजनामा ७३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको ब्याजसहितको लागत प्रति मेगावाट १८ करोड २६ लाख २ हजार ७४० रुपैयाँ रहेको छ । आयोजनाको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

कोशी प्रदेश ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका– ९ र १०, फक्ताङलुङ गाउँपालिका–१ तथा मिक्वाखोला गाउँपालिका–२ को सिमाना भएर बग्ने तमोर नदीको पानीलाई सदुपयोग गरी नदी प्रवाहमा आधारित ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । यसको प्रशारण लाइन २२० केभी डलब सर्किट रहेको छ ।

आयोजनाले २०८० भदौ २६ गतेबाट व्यवसायीक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । आयोजनाको लगानी फिर्ता हुने अवधि ६.७३ वर्ष रहेको छ ।

आयोजनाको डिस्काउन्ट लगानी फिर्ता हुने मिति १३.३६ वर्ष रहेको छ । आयोजनाको अपेक्षित प्रतिफल १७.३८ प्रतिशत रहेको छ । आयोजनाले १२ वर्ष अवधिका लागि ऋण लिएको छ । औसत ब्याज ११ प्रतिशत रहेको छ । अहिलेसम्म आयोजनाको भौतिक प्रगति ७४ प्रतिशत सकिएको छ ।

कम्पनीको सस्ंथापक तथा संचालकमा विभिन्न व्यक्ति तथा कम्पनीसहित १० रहेका छन् । कम्पनीमा सानिमा माई हाइड्रोपावर लि को ५३ लाख ३२ हजार, एन.आर.एन. इनफ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिको १२ लाख ५१ हजार २२५ कित्ता, सानिमा बैंकको ११ लाख १० हजार ८३३ कित्ता, रुबिन पावरको ८ लाख ५९ हजार ७ कित्ता, सनिमा हाइड्रोपावरको ४ लाख ४८ हजार ४९ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै नरेन्द्र प्रजापतिको ३ लाख ५७ हजार २५७ कित्ता, अञ्जना श्रेष्ठ (होडा)को ३ लाख ५६ हजार ८०१ कित्ता, कैलाश प्रसाद सिरोहियाको ३ लाख ५५ हजार ४६७ कित्ता, गणेश इन्भेष्टमेन्टको ५ लाख ५५ हजार ४६७ कित्ता, क्यासडेक इन्भेष्टमेन्टको ३ लाख ३६ हजार ७७७ कित्ता सेयर स्वामित्व रहेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा कम्पनीको प्रति सेयर नेटवर्थ ९६ रुपैयाँ ८२ पैसा, आव २०८०/०८१ मा १०६ रुपैयाँ ७५ पैसा र आव २०८१/०८२ मा ११९ रुपैयाँ ५४ पैसा हुने प्रक्षेपण रहेको छ ।

यस्तै कम्पनीको प्रति सेयर आम्दानी आर्थिक वर्ष २०७९/०८० मा १ रुपैयाँ ९९ पैसा ऋणात्मक रहेपनि आव २०८०/०८१ मा ९ रुपैयाँ ९३ पैसा र आव २०८१/०८२ मा १२ रुपैयाँ ८० पैसा हुने प्रक्षेपण रहेको छ ।

यस्तै कम्पनीको नाफा आर्थिक वर्ष २०७९/०८० मा १० करोड ६० लाख ४६ हजार, ऋणात्मक रहने भएपनि आव २०८०/०८१ मा २२ करोड ४७ लाख ९४ हजार रुपैयाँ नाफा हुने र आव २०८१/०८२ मा ६५ करोड १२ लाख ३ हजार रुपैयाँ नाफा हुने प्रक्षेपण रहेको छ ।


क्लिकमान्डु