तुलसी सहकारीको हिनामिनाबारे सीआईबीलाई छानबिन अनुमति



विराटनगर । विराटनगरको तुलसी बहुद्देशीय सहकारी संस्थामा सर्वसाधारणको बचत रकम हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई छानबिन गर्न अनुमति दिइएको छ ।

सहकारी विभागद्वारा नेपाल प्रहरीको सीआईबीलाई छानबिनका लागि अनुमति दिँदै पत्राचार गरेपछि बचत रकम हिनामिनाबारे अनुसन्धान सुरु गरिने भएको हो ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले यस कुराको पुष्टि गरेका छन् । ‘सहकारीको ठूलै रकम हिनामिना भएको भनेर यहाँबाट हामीले लेखेर माथि पठाएका थियौं’, उनले भने, ‘ सहकारी विभागले छानबिन र अनुसन्धान गर्न अनुमतिपत्र पठाएको छ । जिल्ला प्रहरी कार्यालयलाई अनुसन्धान गर्न हामीले भनेका छौं’ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेले सहकारीको रकम हिनामिनाबारे अनुसन्धान सुरु गर्न लागिएको बताए । कार्यालयमा आज पनि सहकारीका पीडित बचतकर्ताहरु आएका थिए,’ उनले भने, ‘उनीहरुलाई सहकारी विभागले पठाएको पत्रबारे जानकारी गरायौं र छिट्टै उजुरी हाल्न भनेका छौं ।’

सहकारीका बचतकर्ताहरुले सञ्चालकविरुद्ध मुद्दा हाले रकम पाउन धेरै ढिलो हुन्छ भनेर तत्परता नदेखाएको एसपी पोखरेलको भनाइ छ । तर यस विषयको जतिसक्दो चाँडो टुंगो लगाइने उनले बताए ।

साथै सहकारी विभागले सञ्चालक समितिका अध्यक्षसहित सबै सञ्चालकको सम्पत्ति तथा बैंक खाता रोक्का गर्न जिल्ला प्रशासन कार्यालय मोरङमा पत्राचार गरिसकेको बताइएको छ ।

यसअघि सार्वजनिक मुद्दामा प्रहरी नियन्त्रणमा रहेका सहकारी संस्थाका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेको अनुसन्धान कार्यको समयावधि सकिएको छ । अब उनीहरुलाई सहकारीको रकम हिनामिनासम्बन्धी अर्को मुद्दामा मात्र अनुसन्धान गर्न मिल्ले प्रजिअ भट्टराईले बताए । त्यसैले अनुसन्धान छिटो सुरु गर्न जिल्ला प्रहरी कार्यालयलाई भनेको उनले सुनाए ।

त्यसो गरिए पक्राउ परेका न्यौपाने र गौतमलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने हुन्छ । यसअघि पक्राउ परेका उनीहरुलाई प्रहरीले अवहेलनाअन्तर्गत सार्वजनिक मुद्दामा थुनामा राखेको थियो ।

त्यस्तै, सीआईबीले सम्पर्कविहीन भएका सहकारीका अध्यक्ष केदारनाथ शर्मा र अन्य सञ्चालक तथा व्यवस्थापकलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्नेछ ।

सहकारीका अध्यक्ष शर्मा एक महिनादेखि सम्पर्कविहीन भई भारतमा रहेको प्रहरीको भनाइ छ । कार्यसमिति सदस्यहरु बन्टी अधिकारी, निर्मला भट्टराई र छविलाल विश्वकर्मा पनि सम्पर्कविहीन छन् । सदस्य आदित्यराज भट्टराई, प्रमुख प्रबन्धक मन्दीप खवास र प्रबन्धक सुरुची पोखरेल स्थानीय प्रशासनको सम्पर्कमै रहेको बताइएको छ ।

संगठित अपराध गरेको घटनामा मात्र सीआईबीले छानबिन गर्ने नत्र ठगी मुद्दामा अदालतमार्फत मुद्दा चलाइने प्रावधान रहेको प्रजिअ भट्टराईको भनाइ छ । सो सहकारीमा सर्वसाधारणले बचत गरेको १ अर्ब ४५ करोड रुपैयाँ हिनामिना भएको अनुमान गरिएको छ ।

थुनामा रहेकै अवस्थामा उपाध्यक्ष गौतमले जिल्ला प्रशासन कार्यालय मोरङ, सहकारी विभाग काठमाडौं र प्रदेशको सहकारी रजिष्टारको कार्यालयलाई पत्राचार गर्दै समस्या समाधानका लागि आवश्यक सहयोगको माग गरेकी थिइन् ।

यसैबीच बचतकर्ताहरुको अत्यधिक दबाबपछि उपाध्यक्ष गौतमले सहकारी संस्थाका सम्पूर्ण सञ्चालक समितिका पदाधिकारीको तीन पुस्ते विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाएकी थिइन् ।

उनले अध्यक्ष केदारनाथ शर्मा, उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने, सदस्यहरु छविलाल विश्वकर्मा, निर्मला भट्टराई, बन्टी अधिकारी, आदित्यराज भट्टराईको ३ पुस्ते विवरण बुझाएकी हुन् ।

सहकारीको मुख्य कार्यालय विराटनगर-३ मा छ । डेढ अर्ब रुपैयाँ हाराहारीको कारोबार गर्ने यो सहकारी संस्था अहिले संकटग्रस्त छ । सहकारीको मुख्य र शाखा कार्यालय तथा तिनका मातहतमा रहेका डिपार्टमेन्ट स्टोरहरू अनियमितताको रहस्य खुलेपछि बन्द छन् ।

यस सहकारीको विराटनगरमा मात्रै ५ हजार बढी बचतकर्ता छन् । यस सहकारीले विराटनगरका ५ हजार जना सर्वसाधारणबाट झन्डै ६६ करोड रुपैयाँ बचत जम्मा भएको स्वयं कर्मचारीहरु बताउँछन् ।

झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा पनि शाखा कार्यालय रहेको सहकारीको जम्मा निक्षेप (बचत) रकममात्रै १ सय ४५ करोड रुपैयाँ बराबरको रकम रहेको बताइएको छ ।


क्लिकमान्डु