मोदी इनर्जी कम्पनीले फागुन २५ देखि आईपीओ निष्कासन गर्ने



काठमाडौं । मोदी इनर्जी कम्पनीले आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले फागुन २५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले २९ करोड रुपैयाँको २९ लाख कित्ता सेयर आयोजना प्रभावितका लागि निष्कासन गर्ने भएको छ । उक्त सेयरमा पर्वत जिल्ला कुश्मा नगरपालिका–३, मोदी गाउँपालिका–५, २, ६ र कुश्मा नगरपालिका ८ का बासिन्दाहरुले आवेदन दिन पाउनेछन् ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ३५ हजार कित्ता सेयरमा छुट्याइएको छ । उक्त सेयरमा आयोजना प्रभावित स्थानीयले न्यूनतम १० देखि अधिकतम १ हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० देखि १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् । माग अनुसार आवेदन नपरेको खण्डमा आयोजना प्रभावितले चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

आयोजना प्रभावित स्थानीयले सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा , एनआइसी एसिया र कुमारी बैंकको स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु