अभिनेता शाहलाई उच्च अदालतद्वारा सफाइ



काठमाडौं । बालयौन दुराचारको मुद्दामा अभिनेता पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाइ दिएको हो ।

नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । शाहले उक्त फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।

उच्च अदालतको आजको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए । उच्च अदालत पोखराले सफाइ दिएकाले अभिनेता शाह सोमबार कारागार मुक्त हुनेछन् ।

नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो । नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो ।

शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । उनलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।


क्लिकमान्डु