सात महिनामा १ अर्बको बोसो आयात



काठमाडौं । नेपालमा ७ महिनामा करिब १ अर्ब रुपैयाँको बोसो आयात भएको छ । साउनदेखि माघसम्ममा भारत, लेबनान, न्युजिल्यान्ड र साउदी अरबबाट ९५ करोड ७० लाख रुपैयाँभन्दा बढी मूल्यको बोसो भित्रिएको हो ।

भारतबाट ९२ करोड, लेबनानबाट १ करोड ३३ लाख, न्युजिल्यान्डबाट १ करोड ६८ लाख र साउदीबाट ६६ लाख ९० हजार रुपैयाँको बोसो आयात भएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड र थाइल्यान्डबाट २ अर्ब १९ करोडको बोसो आयात भएको थियो । त्यस्तै गत वर्ष थोरै कम २ अर्ब १६ करोड रुपैयाँको बोसो अस्ट्रेलिया, भारत र न्युजिल्यान्डबाट भित्रिएको थियो ।

साबुन, कस्मेटिक र दाना उत्पादक उद्योगले कच्चा पदार्थका रुपमा प्रयोग गर्न पशुको बोसो ल्याउँछन् । सबैभन्दा बढी बोसो साबुन उद्योगले आयात गर्ने गरेको व्यापार तथा निकासी प्रवर्धन केन्द्रले जनाएको छ ।

पशुको बोसो नेपालमै जति पनि उत्पादन हुनसक्छ । तर, नेपालमा व्यवस्थित बधशाला भएका कारण विदेशबाट आयात गर्नुपर्ने स्थिति छ । एक किलोमा मासुमा ३ सय ग्रामसम्म बोसो हुन्छ ।

मासुबाट बोसो छुट्याउने प्रविधियुक्त बधशाला नहुँदा एकातिर उपभोक्ता स्वास्थ्यका लागि हानिकारक मानिने बोसोका लागि पैसा तिर्न बाध्य छन् । अर्कातिर त्यही बोसो खरिदका लागि ठूलो पैसा बिदेसिइरहेको छ ।

मासु काट्दा बोसो छुट्ट्याउन सके बाइप्रोडक्टका रुपमा प्रयोग गर्न सकिन्छ । बोसो र विभिन्न केमिकल प्रयोग गरेर साबुन बनाइन्छ ।


क्लिकमान्डु