तिब्बतीको जीवनस्तर सुधारका लागि २ अर्ब डलर लगानी गर्ने घोषणा



एजेन्सी । चीनले तिब्बतका जनताको जीवनस्तरमा सुधार गर्न एक अर्ब ९९ करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । तिब्बतीको जीविकोपार्जन अनुदान, चिकित्साकर्मीलाई आर्थिक सहायता, सीमावर्ती क्षेत्रका गाउँमा अक्सिजन आपुर्ति तथा सुविधा वृद्धिमा सो रकम खर्च गरिने तिब्बतको स्वायत्त सरकारले जनाएको छ ।

समुद्र सतहबाट ३ हजार ५ सय मिटरको उचाइमा रहेका तिब्बती भूभागमा अक्सिजनको कमीले जीवनयापन कठिन हुने गरेको छ । ४ हजार मिटरभन्दा बढीको औसत उचाइमा रहेको तिब्बत पठारमा अत्यधिक चिसो हुन्छ ।

त्यस्तै अस्पताल तथा भवन तताउने परियोजना निर्माण, सामुदायिक स्तरमा पनि तताउने सुविधा व्यवस्था गर्न पर्याप्त रकम विनियोजन गरिएको बताइएको छ । गत वर्ष तिब्बतमा जनसुविधालाई दृष्टिगत गरी ३८ वटा विकासका कार्यक्रम कार्यान्वयन गरिएको थियो ।

शहरी ढल व्यवस्थापन सञ्जाल निर्माण तथा ग्रामीण सडक परियोजनाका साथै स्वास्थ्यसम्बन्धी कार्यक्रम गरिएका थिए । तिब्बत स्वायत्त क्षेत्रले २ अर्ब ५० करोड अमेरिकी डलर लागतमा एक हजार ३ सय ३७ वटा ग्रामीण पुनरुत्थान परियोजना सञ्चालन गरेको छ । कृषि तथा पशुपालनका परियोजनालाई उच्च प्राथमिकता दिइएको छ ।

परियोजनाले ग्रामीण क्षेत्रमा उच्च प्रतिफल दिने कृषि कर्म, विशेष कृषि र पशुजन्य उद्योगको प्रवर्धनलाई जोड दिएको छ । सन् २०१२ को तुलानमा सन् २०२१ देखि तिब्बतीको प्रतिव्यक्ति आय करिब ३ गुणाले बढेको छ ।


क्लिकमान्डु