बचतकर्ताको १ अर्ब फिर्ता नगरेपछि सहकारी सञ्चालकको खाता रोक्का: कार्यालयमा ताला, कर्मचारी सम्पर्कविहीन



विराटनगर । स्थानीय प्रशासनले विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाका सबै सञ्चालकहरुको बैंक तथा वित्तीय संस्थामा रहेका खाता रोक्का गरेको छ ।

सो सहकारीले बचतकर्ताको करोडौं रकम फिर्ता गर्न नसकेपछि मोरङ प्रशासनले सहकारीका सञ्चालका नामको बैंक तथा वित्तीय संस्थामा रहेका खाता र उनीहरुको नाममा रहेको चलअचलसम्पति रोक्का गर्ने निर्णय गरेको हो ।

यसअघि सो सहकारीका दुई जना सञ्चालक पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने छन् । सहकारीका अध्यक्ष केदारनाथ शर्मा भने सम्पर्कविहीन छन् । सहकारीको कार्यालयमा ताला लगाइएको छ भने कार्यरत कर्मचारीहरु पनि सम्पर्कविहीन भएका छन् ।

बचतकर्ताको करीब १ अर्ब रुपैयाँ बचत फिर्ता नभएपछि पीडितहरुले गत साता जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । उनीहरुले सहकारीका सञ्चालकलाई तत्काल पक्राउ गरी आफूहरुको बचत रकम उपलव्ध गराउन माग गरेका थिए ।

सो घटनापछि जिल्ला प्रशासन कार्यालयले सहकारीका सञ्चालकहरुको चलअचल सम्पति र बैंक वित्तीय संस्थामा रहेको सञ्चालकहरुको खाता रोक्का गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक साहले जानकारी दिए।

यसअघि सहकारीका अध्यक्ष शर्मा जिल्ला प्रशासन कार्यालयको बैठकमा सहभागी भएर बचतकर्ताको रकम क्रमशः फिर्ता गर्ने सहमति गरेका थिए । तर, शर्मा सम्पर्कविहीन भएपछि बचतकर्ताहरु आन्दोलित भएका हुन् ।

सम्पर्कविहीन शर्माको खोजी तीब्र पारिएको जिल्ला प्रहरी कार्यालयका एसपी दीपक पोखरेलले बताए । सम्पर्कबाहिर रहेका सहकारीका अरु सञ्चालकहरुको पनि खोजी भइरहेको उनले जानकारी दिए ।

विराटनगर–२ कोसी राजमार्ग पञ्जाबी पेट्रोल पम्पछेउमा केन्द्रीय कार्यालय रहेको सो सहकारी संस्थामा १४ हजार बढी साना ठूला बचतकर्ताहरु रहेका छन् । सो सहकारीका उदयपुर, झापा, सिरहालगायतका ठाउँमा शाखाहरु रहेको छ ।

सहकारीका सञ्चालकहरुले धेरै व्याज दिने प्रलोभनमा पारेर बचतकर्ताहरुबाट रकम उठाएको आरोप लागेको छ । आर्थिक मन्दी हुनु, बचत रकम उद्योगधन्धा र जग्गाजमिन खरिदमा लगानी गरेको कारण बचतकर्तालाई एकै पटक रकम उपलव्ध गराउन नसकेको सञ्चालकहरुको भनाइ छ ।

सहकारीले अधिकांश बचतकर्ताहरुबाट लाख रुपैयाँभन्दा कम बचत नगरेको र सो रकमको भाकामा व्याज तथा साँवा भुक्तानी दिन नसकेको पीडितहरुको गुनासो छ ।

सो सहकारीमा बचत गर्दै आएकी विराटनगरकी ममताकुमारी साह र बिमता भट्टराईले मुद्दती खातामा राखेको १८/१८ लाख रुपैयाँ समय अवधि पूरा गर्दा पनि फिर्ता नगरेको गुनासो गरेका छन् ।

सहकारीका प्रबन्धक सीताराम अधिकारीले बचतकर्ताको सम्पूर्ण रकम फिर्ता दिने बताए । ‘अहिले तरलता अभावको कारणले समस्या आएको हो,’ उनले भने, ‘जम्मा गरेको बचतकर्ताहरूको रकम सम्पत्ति बेचेर भए पनि क्रमशः फिर्ता दिनेछौं । केही समय लाग्छ । तरलता अभावको कारणले समस्या आएको हो ।’

केही दिन अघिमात्र उक्त सहकारीले सर्वसाधारण बचतकर्ताको पाँच हजार रुपैयाँको चेक पनि नसाटेपछि त्यहाँभित्रको वित्तीय अवस्था जोखममा रहेको थाहा पाएर बचतकर्ताहरु आफ्नो सम्पूर्ण रकम माग्न सहकारी कार्यालकका शाखाहरुमा पुगेका थिए ।


क्लिकमान्डु