विराटनगरको तुलसी सहकारीका सञ्चालक पक्राउ, थप दुई संस्थाका फरार



विराटनगर । विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाका दुई जना सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने छन् ।

उनीहरुलाई बचतकर्ताको रकम दिन नसकेपछि सेयर सदस्यहरुको उजुरीको आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टीकाबहादुर कार्कीले बताए ।

सहकारीमा बचत गरेको रकम उपलव्ध गराउन माग गर्दै सेयर सदस्यहरुले संस्थाका सञ्चालक समितिका अध्यक्ष केदारनाथ शर्मासहित अन्य सञ्चालकहरुको घर घेरा हालेपछि प्रहरीले ती दुई सञ्चालकलाई पक्राउ गरेको थियो ।

विराटनगरमा केन्द्रीय कार्यालय रहेको यस सहकारीले सेयर सदस्यले बचत तथा निक्षेपमा राखेको रकम भाका नाघ्दा पनि दिन नसकेको भन्दै अघिल्लो साता जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीलगत्तै समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रजिअ प्रदीप साहको रोहबरमा पीडित बचतकर्ताहरु र सहकारी सञ्चालकबीच छलफल भएको थियो ।

छलफलमा संस्थाका अध्यक्ष शर्मासहित सञ्चालकहरुले पाँच दिनभित्र सेयर सदस्यको रकम उपलव्ध गराउने सहमति गरेका थिए । सो समय अवधि नाघेपछि सेयर सदस्यहरुले पुनः प्रशासनलाई गुहार्नुका साथै सञ्चालकहरुको घर घेराउ गरेका थिए ।

अध्यक्ष शर्माले सहकारीका नाममा विभिन्न ठाउँमा भएको सम्पत्ति बेचेर वचतकर्ताको रकम असुल गर्ने बताएका छन् । तर अहिले उनी कार्यालय आउन छाडेको बताइएको छ ।

सहमतिपछि सो सहकारीको विराटनगरस्थित मुख्य काउण्टरले तत्काल दैनिक ३० जनालाई अधिकतम् १० हजार रुपैंयाँका दरले भुक्तानी गर्ने गरी सूचना निकालेको थियो । तर सहमति अनुसार सहकारीले बचतकर्ताको अधिकतम् १० हजार रुपैंयाँ पनि भुक्तानी गर्न नसकेको हो ।

सहकारीले बचतकर्ताहरुको सबै पैसा विराटनगर–१९ मा स्थापित तुलसी मोटरपम्प, विभिन्न ठाउँमा जग्गा खरिद, चामल तथा दाल उद्योग, उदयपुर र दमकमा गार्डेन मार्ट नामको डिपार्टमेन्ट स्टोर सञ्चालन, चिया बगान र चिया उत्पादन जस्ता कार्यमा लगानी गर्दै आएको पाइएको छ ।

केही दिनअघि सहकारीको उदयपुरस्थित गाईघाटमा रहेको शाखामा सेयर वचतकर्ताले समयमा पैसा नदिएको भन्दै तालाबन्दी गरेका थिए । त्यहाँको समस्या अझै पनि समाधान भइनसकेको जनाइएको छ ।

सो सहकारीमा विराटनगरकी ममताकुमारी साह र बिमता भट्टराईले मुद्दति निक्षेपमा राखेको १८/१८ लाख रुपैयाँ समय अवधि पूरा गर्दा पनि फिर्ता नगरेको गुनासो गरेका छन् । उनीहरुजस्तै अरुको पैसा पनि आकर्षक व्याज दिने प्रलोभनमा पारेर रकम जम्मा गर्न लगाइएको बताइएको छ ।

सहकारीका प्रबन्धक सीताराम अधिकारीले बचतकर्ताको सम्पूर्ण रकम फिर्ता दिने बताए ।

‘अहिले तरलता अभावको कारणले समस्या आएको हो,’ उनले भने, ‘जम्मा गरेको बचतकर्ताहरूको रकम क्रमशः फिर्ता दिनेछौं । केही समय लाग्छ । तरलता अभावको कारणले समस्या आएको हो।’

मोरङमा केन्द्रीय कार्यालयसहित झापा, सुनसरी, उदयपुर, संखुवासभा, धनकुटा, सिराहा, धनुषा जिल्लामा शाखा सञ्चालित तुलसी सहकारीमा १४ हजार बढी सानाठूला बचतकर्ताहरुको विभिन्न प्रकारका खाता सञ्चालित छन् । यतिधेरै सदस्यहरुबाट संकलित हुने रकमको सुरक्षा भने देखिएन ।

केही दिन अघिमात्र उक्त सहकारीले सर्वसाधारण बचतकर्ताको पाँच हजार रुपैयाँको चेक पनि नसाटेपछि त्यहाँभित्रको वित्तीय अवस्था जोखिम रहेको थाहा पाएर वचतकर्ताहरु आफ्नो सम्पूर्ण रकम माग्न सहकारी कार्यालयका शाखाहरुमा पुगेका थिए ।

सहकारीको उद्देश्यविपरित नातागोतामा ऋण लगानी, जग्गा तथा सम्पत्ति खरिद र अध्ययनविनै उद्योग तथा व्यापारमा लगानी गर्दा अधिकांश सहकारीहरु अहिले वित्तीय समस्या भोग्य बाध्य बनेका हुन् । दुई अर्ब रुपैयाँभन्दा बढी सेयर पूँजी भएको यो सहकारी २०७१ सालमा स्थापना भएको हो ।

बचतकर्ताको दुई करोड गायब

यस्तै विराटनगरको ट्राफिक चोक नजिकै रहेको बागेश्वरी सहकारी संस्थामा वचत गर्ने वचतकर्ताहरुले भने आफ्नो रकम नै सहकारीमा जम्मा नभएको फेला पारे । मुद्दति निक्षेपमा जम्मा हुने भनिएको रकम सहकारीको खातामा पुग्दै नपुगेको भेटिएपछि अहिले बचतकर्ता अन्योलमा परेका छन् ।

रोशन भनिने राकेश मल्लिकले विराटनगर–१२ मझुवा टोलका ७० जना बढी सर्वसाधारणको वचत रकम हिनामिना गरेर फरार भएको पीडितहरुको आरोप छ । उनले २०७४ यता वचतकर्ताहरुबाट रकम संकलन गर्दै आएका थिए । मल्लिकले साढे १४ प्रतिशत ब्याज दिने प्रलोभन देखाएर प्रतिव्यक्ति १० हजारदेखि ४ लाख रुपैयाँसम्म संकलन गरेका थिए ।

आफूले जम्मा गरेको रकम झिक्न सहकारीमा पुग्दा खातामा रकम नभएको जानकारी पाएपछि बचतकर्ताहरुले सहकारी घेराउ गरेका थिए । विराटनगर–१२ की वविता साहले छोरीको विवाहका लागि काम लाग्छ भनेर एक लाख रुपैयाँ बचत गरेको तर सो रकम निकाल्न जाँदा खातामा पैसा नभएको जवाफ दिएको भन्दै रकम जम्मा हुने गरेको पासबुक देखाइन् ।

विराटनगरमा सहकारीका नाममा यस्ता घटना बर्सेनी हुन्छन् । तर नियमन र चासो राख्ने निकायहरु प्रभावकारी छैनन् । झण्डै चार वर्षअघि पनि प्राइम सहकारीका सञ्चालकहरुले बचतकर्ताको झण्डै ६ करोड रुपैयाँ ठगेर फरार भए । उनीहरुविरुद्ध ठगी कसुरमा मुद्दा समेत दायर गरेको थियो । तर बचतकर्ताहरुले आफ्नो डुबेको रकम अहिलेसम्म फिर्ता पाउन सकेका छैनन् । धेरै सञ्चालकहरु फरार छन् ।

विराटनगर क्षेत्रमा झण्डै २ सय सरहकारी संस्थाहरु सञ्चालित छन् । तीमध्ये ७० प्रतिशत सहकारी नियमसंगत नचलेको महानगरपालिका कार्यालयले जनाएको छ । केही समयअघि महागरपालिकाले गरेको अनुगमनमा यस्तो तथ्य फेला परेको हो ।

अनुगमनपछि महानगरको न्यायिक समितिमा अरु विषयको भन्दा सहकारीसम्बन्धी उजुरी आधाभन्दा बढी परेको अनुगमन समितिकी संयोजक महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले बताइन् ।

यसमा तुलसी सहकारीसम्बन्धी उजुरी भने नपरेको महानगर सहकारी विभागकी प्रमुख पृथ्वी बस्नेतले बताइन् । उनका अनुसार तुलसी सहकारी महानगरभित्र सञ्चालित भएपनि यो संघीय सरकारअन्तर्गत पर्दछ ।


क्लिकमान्डु