भूगोल इनर्जिको आईपीओ निष्कासन, कसले कहिलेसम्म दिन पाउँछ आवेदन ?
काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो ।
वैैदेशिक रोजगारीमा रहेका नेपालीले फागुन २५ गतेसम्म आवेदन दिन पाउनेछन् । यस्तै आयोजना प्रभावितले पनि फागुन २५ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँको ५ लाख ४४ हजार ५३ कित्ता सेयर निष्कासन गरेको छ ।
जसमा आयोजना अति प्रभावित क्षेत्र दैलेख जिल्लाको नौमुले द्धारी ३ का स्थानीयलाई २ लाख ७२ हजार २६ कित्ता र जिल्लाका अन्य स्थानीयका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ८ हजार ८११ कित्ता सेयर छुट्याइएको छ । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
यस्तै आयोजना प्रभावितले एनआइसी एशिया, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् ।