यती एयरलाइन्स दुर्घटना: एक महिनामा पनि फेला परेन दुई शव



काठमाडौं । गत माघ १ गते पोखरमा भएको यती एयरलाइन्स दुर्घटनामा बेपत्ता दुईको अवस्था अझै अज्ञात रहेको छ ।काठमाडौंबाट पोखराका लागि उडेको यतीको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक सेती नदी खोचमा दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा ७२ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको थियो । सो दुर्घटनामा परेका मध्ये ७० जनाको शव सनाखत गरि आफन्तलाई बुझाइएको छ ।

दुर्घटनामा आगोले जलि चिन्न नसकिने अवस्थामा रहेका र शरीरका टुक्राको चिकित्सा अध्ययन संस्थान त्रिविको फरेन्सिक मेडिसिन विभागमा डीएनए परीक्षण गरिएको थियो ।

परीक्षणपछि सनाखत भएका शवहरु आफन्तको जिम्मा लगाइएको छ । तर, २ वटा पोकामा रहेका शवका टुक्राहरु अध्ययन गर्दा ति टुक्रा सनाखत गरिएकै मध्येका शवको भएको र दुई जनाको अवस्था अझै अज्ञात रहेको फरेन्सिक विभागले जनाएको छ।

उक्त दुर्घटनामा मृत्यु भएका मध्ये बेबी शर्मा र युवराज शर्माको शव अझै प्राप्त भएको छैन । शर्माद्वयका आफन्तको डीएनए अस्पतालमा रहेका शव र टुक्रासँग नमिलेको अस्पतालले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको एक महिनाभन्दा बढी अवधि हुँदा पनि दुई जनाको खोजीका लागि पर्याप्त प्रयास नगरेको आफन्तको आरोप छ ।

सोमबारमात्र शर्माद्वयका आफन्तले ‘सास अथवा लाश’ उपलब्ध गराउन भन्दै यती एयरलाइन्सको कार्यालयमा प्रदर्शन गरेका थिए ।

यद्दपी शर्मा परिवारले भने ‘कुशको शव’ बनाएर हिन्दू परम्पराअनुसार दुवैको दाह संस्कार गरिसकेको छ ।

नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले प्रभावकारी काम गर्न नसक्दा दुर्घटनामा परेका दुईको अवस्था अज्ञात रहेको उनीहरुको आरोप छ ।

प्राधिकरणले कतिसम्म लापरवाही गरेको थियो भने- गत माघ ४ गते नै ७१ जनाको शव प्राप्त भइसकेको भन्दै उसले विज्ञप्ति जारी गरेको थियो । पछि माघ ८ गते अस्पतालले ७० जनाको शव र २ वटा पोकामा शवको टुक्रा प्राप्त भएको सूचना जारी गर्‍यो । त्यसपछि मात्र प्राधिकरणले गल्ती सच्चाउँदै ७० जनाको शव प्राप्त भएको जनाएको थियो ।


क्लिकमान्डु