राजस्व अनुसन्धान विभागको महानिर्देशकमा सापकोटा



काठमाडौं । सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी नारायण सापकोटालाई दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत सापकोटालाई विभागको महानिर्देशक बनाइएको हो ।

सापकोटा भन्सार विभागको पनि महानिर्देशक भइसकेका छन् । सरकारले तीन महिनामै राजस्व अनुसन्धान विभागको महानिर्देशक सरुवा गरेको थियो ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभागको महानिर्देशक मदन दाहालको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको थियो ।

दाहाल प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुन १९ दिन मात्रै बाँकी रहेको अवस्थामा गत कात्तिक १५ गते राजस्व छली सम्बन्धी अनुसन्धान गर्ने महत्वपूर्ण विभागको महानिर्देशक बनेका थिए ।

सापकोटाले सोमबारदेखि जिम्मेवारी सम्हाल्ने जानकारी दिए । ‘आज म बिदामा छु,’ सापकोटाले भने,’भोलि मात्रै जिम्मेवारी सम्हाल्न जान्छु ।’

पछिल्लो समय विभागको महानिर्देशक छोटो अवधीमा सरुवा हुने गरेको छ । दाहाललाई महानिर्देशकको जिम्मेवारी दिँदा पनि ४ महिना मात्रै विभागको महानिर्देशक भएका झलकराम अधिकारीलाई सरूवा गरिएको थियो ।

तत्कालीन प्रधाानमन्त्री शेरबहादुर देउवाले जेठ ३० गते प्रकाश पौडेललाई हटाएर अधिकारीलाई महानिर्देशकको जिम्मेवारी दिएका थिए । पौडले भने विभागमा १० महिना काम गर्न पाएका थिए । पौडेलले २०७८, असोज १३ गते महानिर्देशकको जिम्मेवारी पाएका थिए ।

विभागमा २०७७ फागुनमा महानिर्देशक भएका रामप्रसाद आचार्यलाई गण्डकी प्रदेशमा सरूवा गरेर पौडेललाई महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।

आचार्यले पनि विभागमा ७ महिना मात्रै काम गर्न पाएका थिए । पौडेलेभन्दा अगाडि दीर्घप्रसाद मैनाली भने लामो समय महानिर्देशक भएका थिए । मैनालीले २० महिना विभागको नेतृत्व सम्हालेका थिए । २०७८ असोज यता भने चौथोपटक महानिर्देशक सरुवा गरिएको छ ।

कर र भन्सार छली सम्बन्धी अनुसन्धान गर्ने जिम्मेवारी पाएको विभागको नेतृत्व पछिल्लो अस्थिर हुँदा राजस्व चुहावट सम्बन्धी अनुसन्धान प्रभावकारी हुन नसकेको विभागका अधिकारीहरु बताउँछन् ।

सरकारले दिएको जिम्मेवारी अनुसार काम गर्न प्रतिबद्ध रहेको सापकोटाले बताए । सापकोटासँग राजस्व प्रशासनमा काम गरेको लामो अनुभव छ ।

सापकोटा भन्सार विभागको उपमहानिर्देशक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय प्रमुख थिए। त्यसै गरि उपसचिव हुँदा सापकोटा विभिन्न कर र भन्सार कार्यालय प्रमुख थिए ।


क्लिकमान्डु