अर्बौं ऋण अपचलन गरेको भन्दै प्रभु बैंकका सीईओ शेरचनमाथि सीआईबीले थाल्यो अनुसन्धान



काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित केही अधिकारीहरुमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान शुरु गरेको छ ।

सीईओ शेरचनले आफन्तका नाममा रहेको जानकी मेडिकल कलेजलाई पटक पटक गरी २ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको, चिरायु अस्पताललाई प्रवाह भएको कर्जा, अन्य केही कृत्रिम ऋणी खडा गरी बैंकबाट करोडौं ऋण दिएको र घाटामा रहेका केही संस्थालाई ऋणमाथि ऋण थुपारेको लगायतका विषयमा अनुसन्धान थालिएको सीआईबीका एक उच्च अधिकारीले जानकारी दिए ।

सीआईबी स्रोतका अनुसार गत माघ १२ गते ती ऋणीसँग सम्बन्धी सम्पूर्ण कागजात पेस गर्न भन्दै सीआईबीले पत्र काटेको थियो । सोही दिन शेरचनलाई बैंक सञ्चालक समितिले तेस्रो कार्यकालका लागि सीईओमा पुन नियुक्ति गर्यो ।

सीईओ नियुक्तिको एकमात्र एजेण्डामा बसेको बैंक सञ्चालक समितिको बैठक ३ घण्टासम्म चलेको थियो । उक्त बैठकमा केही सञ्चालकहरुले सीआईबीले छानविन गर्ने भनिरहेको अवस्थामा शेरचनलाई सीईओ नियुक्ति गर्न नहुने राय ब्यक्त गरेका थिए ।

तर, सीईओ शेरचनले केही लफडायुक्त कर्जाका फाइलहरु मिलाउनू पर्ने भन्दै ४ वर्षकै लागि सीईओ नियुक्ति गरे पनि ती फाइलहरु सेटल गरेपछि बैंक छाड्ने बताउँदै सीईओमा निरन्तरता दिन आग्रह गरेका थिए ।

‘अशोकजीले अहिले आफू सीईओ नभए बैंकलाई नै समस्या पर्ने बताएपछि हामीले उहाँलाई निरन्तरता दिएका हौं,’ एक सञ्चालकले क्लिकमाण्डूसँग भने, ‘हाँमीसँग उहाँले केही कर्जाका फाइलहरु सेटल गरेर ‘ग्रेसफुल एक्जिट’ लिन्छु भन्नु भएको थियो ।’

तर, माघ १३ गते सीआईबीले काटेको पत्र बैंक आइपुगेपछि आफूहरुलाई ढाँटेको भन्दै सञ्चालकहरु सीईओ शेरचनप्रति रिसले चुर भएका छन् ।

‘हामीले सीईओ बनाएकै भोलिपल्ट सीआईबीले छानबिन थालेको छ, यो गम्भीर बिचलन हो,’ ती सञ्चालकले भने, ‘व्यवस्थापनबाट हामीलाई सही सूचना दिइएन ।’

बैंकका ठूला लगानीकर्तासमेत रहेका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनलाई पनि शेरचनले आफूले सबै मिलाइसकेको भन्दै गुमराहमा राखेका थिए ।

प्रभु बैंकले गत मंगलबार सीआईबीले मागेका कर्जाका फाइलहरुसहित जवाफ पठाएको छ ।

‘बैंकले गत मंगलबार नै जवाफ पठाइसकेको छ,’ सीआईबी स्रोतले भन्यो, ‘केही दिनभित्रै सीईओ लगायत उक्त प्रकरणमा संलग्न कर्मचारीहरुलाई बयानका लागि बोलाउँछौं । अनुसन्धान जारी छ ।’

राष्ट्र बैंकले कर्जा अपचलन भएको निष्कर्ष निकाल्दै २०७२ सालमै सीआईबीलाई थप अनुसन्धान गर्न लिखित सिफारिस गरेको थियो । त्यसयता पनि शेरचनले जानकी मेडिकल कलेजलाई अर्को कम्पनी खडा गरेर ऋण थप्दै आएका छन् ।

तर, सीईओ शेरचनले शक्तिकेन्द्रको प्रयोग गरी यसअघि आफूमाथिको अनुसन्धान रोक्न सफल भएका थिए ।

‘प्रारम्भिक अनुसन्धान अनुसार घटना गम्भीर प्रकृतिको छ,’ सीआईबी स्रोतले भन्यो, ‘यसअघि किन अनुसन्धान भएन त्यो थाहा भएन । तर, अब भने अनुसन्धान हुन्छ, दोषी उम्कदैनन्, निर्दोष फस्दैनन् ।’

सीईओ शेरचनले आफन्त सेयरधनी भएको कम्पनीमा ऋण दिएर आफैंले लाभ लिनएको हुनसक्ने सीआईबीको प्रारम्भिक अनुसन्धानले देखिएको छ ।

राष्ट्र बैंकको नियम अनुसार बैंक तथा वित्तीय संस्थाका कार्यकारी प्रमुखदेखि सञ्चालकहरुले आफन्तका नाममा सञ्चालित संस्थालाई ऋण प्रवाह गर्न मिल्दैन ।

तर, सीईओ शेरचनले राष्ट्र बैंकको नियमको धज्जी उडाउँदै घुमाउरो बाटो प्रयोग गरेर ऋणमाथि ऋण थुपारिरहे । शक्ति केन्द्रको आडमा कानूनको उल्लंघन गरेर जनताको पैसामा रजाईं गरिरहे ।


क्लिकमान्डु