विदेशमा रहेका नागरिकलाई भोट हाल्न दिने सुविधा व्यवहारिक रुपमा लागू हुन सकेनः महान्यायाधिवक्ता



काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले गत निर्वाचनमा नामावली समावेश गर्ने प्रक्रियामा नै समस्या आउँदा कतिपय नागरिकहरुले भोट हाल्न नपाएको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले निर्वाचनमा कसलाई सहभागी हुन दिने र नदिने भन्नेबारेमा पनि कतिपय प्राविधिक समस्या आएकाले यी कुराहरुलाई आगामी दिनमा स्पष्ट बनाएर जान आवश्यक रहेको बताए ।

उनले विदेशमा रहेका नागरिकलाई भोट हाल्ने व्यवस्था गर्ने आदेश सर्वोच्च अदालतले दिइसके पनि व्यवहारिक रुपमा इन्स्योर भएको अनुभुति हुन नसकेको बताए ।

‘निर्वाचनमा कसलाई सहभागी हुन दिने र नदिने भन्नेबारेमा पनि कतिपय प्राविधिक कुराहरु छन् । सर्वोच्च अदालतले नै विदेशमा रहेका नागरिकलाई भोट हाल्ने व्यवस्था गर्नु भनेको छ, २०६४ मै कैदीबन्दी, कर्मचारी, सेना, प्रहरी सबैले भोट हालेको थियो, पछिल्लो दिनमा फेरि रोकियो, यस पटक सर्वोच्च अदालतको आदेशपछि कार्यान्वयनमा आयो तर सबैले व्यवहारिक रुपमा इन्स्योर भएको अनुभुति भएन । नामावली समावेश गर्ने कुरामा नै प्राविधिक समस्या भयो । यस्ता कुरालाई ऐनले रोकेको छैन, व्यवहारिक रुपमा लैजाने कुरामा समस्या भएकाले यस्ता कुरालाई समयमै निर्वाचन आयोगले समाधान गर्नुपर्छ । मुलतः सिफारिस गर्ने संवैधानिक अंगहरुमा, राजनीतिक दलहरुमा समावेशितालाई इन्स्योर नगरीकन ऐनमा ल्याएर मात्रै हुँदैन, त्यसैले ब्याक एण्ड फोर्स हामीले सोच्नुपर्छ’उनले भने ।

महान्यायाधिवक्ता पोखरेलले समानुपातिक निर्वाचन प्रणालीमा विकृत अभ्यास भइरहेको गुनासो बढीरहेको भन्दै यसलाई समयमा नै समाधान गर्न आवश्यक पहल गर्नुपर्ने बताए ।


क्लिकमान्डु