भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आयो, चार महिनापछि निगम पुनः घाटामा



काठमाडौं । भारतबाट पेट्रोल र डिजलमा मूल्य बढेर आएको छ ।

नेपाल आयल निगमकाअनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजलको मूल्य लिटर ८ रुपैयाँले बढेर आएको जनाएको छ ।

आईओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य र हरेक एक महिनामा एलपी ग्यासको नयाँ मूल्यसूची निगमलाई पठाउने गरेको छ ।

सोही मूल्य पठाउने प्रक्रियाअनुसार एनओसीलाई प्राप्त विवरणमा पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ८/८ रुपैयाँले बढेर आएको निगमका प्रवक्ता विनितमणी उपध्यायले बताए ।

उनकाअनुसार मट्टितेलमा ४.६० रुपैयाँ र हवाई इन्धन ७.८० रुपैयाँले बढेर आएको छ । तर, ग्यास प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको उनले जानकारी दिए । एलपीजी ग्यासको मूल्य ७५ रुपैयाँले घटेर आएपनि अहिले प्रतिसिलिण्डर २८० रुपैयाँले घाटा रहेको उनको भनाइ छ ।

त्यसैगरी, पछिल्लो मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य घटेसँगै निगम पुनः घाटामा गएको उनले बताए । ‘चार महिनादेखि निगमले निरन्तर नाफा कमाएको थियो । उक्त नाफा भएको रकम आईओसीलाई ऋणको किस्ता तिर्दै आएको थियो,’ उनले क्लिकमाण्डूसँग भने, ‘आईओसीले नयाँ मूल्य पठाएसँगै निगम १५ दिनमा ९ करोड ४१ रुपैयाँ घाटामा जानेछ ।’ साथै, निगमको आर्थिक भार थपिएको उनले जिकिर गरे ।


क्लिकमान्डु