कामना सेवा विकास बैंकका सीईओ बस्नेतको कार्यकाल थपिएन, कामुको जिम्मेवारी दाहाललाई
काठमाडौं । कामना सेवा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको कार्यकाल नथप्ने भएको छ ।
फागुन २ गतेसम्म कार्यकाल रहेका सीईओ बस्नेत बैंकिङ कसुर अभियोगमा प्रहरी समक्ष आत्मसमर्पण गरेपछि उनको कार्यकाल नथपिएको बताइएको छ ।
प्रहरीले बैंकिङ कसुर अभियोगमा अनुसन्धान गर्न थालेपछि बस्नेत पुस अन्तिमबाट बिदामा बसेका थिए । बस्नेत बैंकिङ कसुरमा परेपछि उनको कार्यकाल नथपेर अहिलेका लागि कामु प्रमुख कार्यकारीको जिम्मेवारी विनय दाहाललाई दिएको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए ।
३१ करोड रुपैयाँ कर्जा अपचलन प्रकरणमा सीईओ बस्नेतसहित दर्जन कर्मचारी, भ्यालुएटर र ऋणीलाई गत साता झापाको दमक प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको एक साता नवित्दै सीईओ बस्नेतले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।