कामना सेवा विकास बैंकमा ३१ करोड घोटला प्रकरणः सीईओ बस्नेतले प्रहरीसमक्ष ‘आत्मसमर्पण’ गरे



काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण बस्नेत प्रहरीको सम्पर्कमा आएका छन् ।

३२ करोड रुपैयाँ कर्जा अपचलन प्रकरणमा सीइओ बस्नेतसहित दर्जन कर्मचारी, भ्यालुएटर र ऋणीलाई गत साता झापाको दमक प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएको एक साता नवित्दै सीइओ बस्नेतले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।

‘आइतबार सीइओ प्रविण बस्नेतजी आफैं प्रहरी कार्यालय आउनुभयो,’ दमक प्रहरी कार्यालय स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘हामीले उहाँलाई नियन्त्रणमा लिएर हिरासतमा राखेका छौं । म्याद थपका लागि आज अदालतमा पेश गरेका छौं ।’

यसरी आफैं सम्पर्कमा आएका बस्नेतलाई प्रहरीले हिरासतमा लिएर बयान पनि लिएको छ । प्रहरीले ७ दिनको लागि म्याद थप माग गर्दै उच्च अदालत इलाममा निवेदन दिएको छ । अदालतले दिएको समयमा बयान लिने र थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ

३१ करोड रुपैयाँ बराबरको ऋण अपचलन भएको भन्दै नेपाल राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्र पठाएपछि झापास्थित इलाका प्रहरी कार्यालय दमकले बस्नेतसहितका विभिन्न व्यक्तिलाई पक्राउ पूर्जी जारी गरेको थियो।

प्रहरी स्रोतका अनुसार कतिपय ऋणहरु बिनाधितो दिइएको छ भने कतिपय ऋण धितोले खाम्नसक्ने अवस्था छैन । त्यस्तै पसल देखाएर दिएको ऋणको अवलोकन गर्न जाँदा उक्त पसल नै अर्काको परेकोसमेत भेटिएको छ ।

‘प्रारम्भिक अनुसन्धान अनुसार भ्यालुएटर र बैंकका कर्मचारी मिलेर नक्कली ऋणी खडा गरी कतिपय ऋणहरु आफैं तलाएको देखिन्छ,’ स्रोतले भन्यो ।

अपचलन भएको उक्त रकम बैंकले संभावित जोखिम व्यवस्थाका लागि छुट्याइसकेको छ ।

‘प्रोभिजन भइसकेकाले यसले बैंकलाई खासै असर गर्दैन,’ बैंकका एक सञ्चालकले भने, ‘धितोबाट पनि केही रकम उठ्छ भने केही रकम मात्रै फस्ने देखिन्छ ।’

ती सञ्चालकका अनुसार सीइओ बस्नेतले नै यो विषय थाहा पाएर अनुसन्धान गराएका हुन् ।

‘प्रवीणजीले नै कर्जा अपचलन भएको विषयमा अध्ययन गरी राष्ट्र बैंकमा जानकारी गराउनु भएको हो,’ स्रोतले भन्यो, ‘प्रहरीले दूधको दूध पानीको पानी छुट्याउला ।’

प्रहरीका अनुसार ४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ भने बाँकी फरार अभियुक्तहरुको खोजी कार्य जारी छ ।


क्लिकमान्डु