कामना सेवा विकास बैंकमा ३१ करोड घोटला, राष्ट्र बैंकले सीआईबीलाई पठायो



काठमाडौं । कामना सेवा विकास बैंकमा ३१ करोड रुपैयाँ बराबरको ऋण अपचलन भएको भन्दै नेपाल राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पठाएको छ ।

झापा जिल्लाको दमक क्षेत्रमा विभिन्न व्यक्तिलाई दिएको कर्जा अपचलन भएको भेटिएपछि राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न सीआईबीलाई पठाएको हो ।

‘राष्ट्र बैंकले कामना सेवा विकास बैंकले झापाको दमक क्षेत्रमा विभिन्न व्यक्ति तथा कम्पनीका नाममा प्रबाह गरेको ३१ करोड रुपैयाँ बराबरको कर्जा अपचलन भएको निष्कर्षसहित छानविन गरी कारबाही गर्न सिफारिस गर्दै प्रतिवेदनसहित पत्राचार गरेको छ,’ सीआईबी स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘हामीले सम्बन्धित व्यक्तिहरुलाई बोलाएर बयान लिइरहेका छौं ।’

सीआईबी स्रोतका अनुसार कतिपय ऋणहरु बिनाधितो दिइएको छ भने कतिपय ऋण धितोले खाम्नसक्ने अवस्था छैन । त्यस्तै पसल देखाएर दिएको ऋणको अवलोकन गर्न जाँदा उक्त पसल नै अर्काको परेकोसमेत भेटिएको छ ।

‘प्रारम्भिक अनुसन्धान अनुसार भ्यालुएटर र बैंकका कर्मचारी मिलेर नक्कली ऋणी खडा गरी कतिपय ऋणहरु आफैं तलाएको देखिन्छ,’ स्रोतले भन्यो, ‘कतिपय कर्जाका फाइलहरु सीईओकहाँ पनि पुगेका छन् । बैंक उच्च व्यवस्थापनले सतर्कता नअपनाएको देखिन्छ ।’

बैंकमा प्रविण बस्नेत प्रमुख कार्यकारी अधिकृत छन् ।

‘कर्जामा हस्ताक्षर गर्नेहरुको विस्तृत लेखेर राष्ट्र बैंकले पठाएको छ, हामी अनुसन्धान गरिरहेका छौं,’ स्रोतले भन्यो ।

राष्ट्र बैंकको सञ्चालक समितिमा छलफल भई करीब दुई महिनाअघि उक्त फाइल सीआईबीलाई पठाएको हो ।

त्यसैगरि सीआईबी स्रोतका अनुसार ५ वाणिज्य बैंकसँग सम्बन्धित झण्डै १० अर्ब रुपैयाँको कर्जा अपचलनको पनि अनुसन्धान भइरहेको छ ।


क्लिकमान्डु