कामना सेवा विकास बैंकका सीईओसहितका उच्च अधिकारीविरुद्ध पक्राउ पूर्जी जारी



काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतसहितका उच्च तहका केही कर्मचारीलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

३१ करोड रुपैयाँ बराबरको ऋण अपचलन भएको भन्दै नेपाल राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्र पठाएपछि झापास्थित इलाका प्रहरी कार्यालय दमकले बस्नेतसहितका विभिन्न व्यक्तिलाई पक्राउ पूर्जी जारी गरेको हो ।

प्रहरी स्रोतका अनुसार कर्जा अपचलन भएको विषयमा राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न पत्र पठाएपछि सम्बन्धित व्यक्तिलाई पक्राउ गर्न लागिएको हो ।

राष्ट्र बैंकले कामना सेवा विकास बैंकले झापाको दमक क्षेत्रमा विभिन्न व्यक्ति तथा कम्पनीका नाममा प्रबाह गरेको ३१ करोड रुपैयाँ बराबरको कर्जा अपचलन भएको निष्कर्षसहित छानविन गरी कारबाही गर्न सिफारिस गर्दै प्रतिवेदनसहित सीआईबीमा पत्राचार गरेपछि त्यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

सीआईबी स्रोतका अनुसार कतिपय ऋणहरु बिनाधितो दिइएको छ भने कतिपय ऋण धितोले खाम्नसक्ने अवस्था छैन । त्यस्तै पसल देखाएर दिएको ऋणको अवलोकन गर्न जाँदा उक्त पसल नै अर्काको परेकोसमेत भेटिएको छ ।

‘प्रारम्भिक अनुसन्धान अनुसार भ्यालुएटर र बैंकका कर्मचारी मिलेर नक्कली ऋणी खडा गरी कतिपय ऋणहरु आफैं तलाएको देखिन्छ,’ स्रोतले भन्यो ।


क्लिकमान्डु