बैंकहरुले सार्वजनिक गरेको र राष्ट्र बैंकबाट पारित भएको नाफामा किन यतिधेरै अन्तर ?
अधिकांश बाणिज्य बैंकहरुले सार्वजनिक गर्ने अपरिस्कृत वित्तीय विवरणमा देखाएको नाफाभन्दा लेखापरीक्षणपछिको नाफा निकै कम भएको देखिएको छ । नियामक राष्ट्र बैंकले गरेको कडाइका कारण बैंकहरुको नाफामा यस्तो फरक देखिएको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत कम्पनीहरुले हरेक त्रैमासको अन्त्यमा वित्तीय अवस्थाको जानकारी प्रकाशित गर्ने गरेका छन् ।
सर्वसाधारण जनतालाई सेयर निष्काशन गरेका सबै कम्पनीलाई धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ ले वित्तीय अवस्थाको जानकारी प्रकाशित गर्नु पर्ने बाध्यकारी व्यवस्था गरेको छ । जसले गर्दा नेप्सेमा सुचिकृत सबै कम्पनीले त्रैमास अन्त्य भएको दुई साताभित्र पत्रपत्रिकामार्फत् वित्तीय अवस्थाको जानकारी गराउँदै आएका छन् ।
जसलाई सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले निकै महत्व दिएर अध्ययन गर्ने गर्छन् । र, केही लगानीकर्ता उक्त वित्तीय विवरणका आधारमा आफूलाई मन लागेको कम्पनीको सेयरसमेत किन्ने गर्छन् ।
गत आर्थिक वर्षमा बाणिज्य बैंकहरुले पत्रपत्रिकामार्फत् सार्वजनिक गरेको लेखापरीक्षण हुनुअघिको नाफा र लेखापरीक्षणपछिको नाफामा ठूलो अन्तर देखिएको छ । विगतमा यस्तो अन्तर २/३ प्रतिशत मात्रै हुने गरेकोमा गत वर्ष भने ११ प्रतिशतको अन्तर देखिएको छ ।
राष्ट्र बैंकबाट साधारणसभा गर्ने अनुमति पाएर लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेका २४ बैंकमध्ये अधिकाशं बैंकको नाफा पत्रिकामा प्रकाशितभन्दा घटेको छ ।
नेपाल एसबिआई बैंकको पत्रिकामा प्रकाशित र अन्तिम लेखापरिक्षण प्रतिवेदनमा उल्लेखित नाफा भने उस्तै छ । एसबिआईले गत वर्ष १ अर्ब ६३ करोड नाफा कमाएको विवरण सार्वजनिक गरेको थियो । बैंकले ६ करोड रुपैयाँ ब्याज फिर्ता गर्दा समेत लेखा परिक्षण प्रतिवेदनको नाफा र पत्रिकामा प्रकाशित नाफा उस्तै छ ।
त्यस्तै पत्रिका र अन्तिम वित्तीय विवरणमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा खासै हेरफेर भएको छैन । चार्टर्डले पत्रिकामा २ अर्ब २६ करोड रुपैयाँ खुुद नाफा सार्वजनिक गरेको थियो । लेखापरीक्षण प्रतिवेदनमा चार्टर्डको नाफा २ अर्ब २५ करोड रुपैयाँ छ । चार्टर्डले ४० लाख रुपैयाँ ब्याज फिर्ता गरेकाले नाफामा थोरै हेरफेर भएको हो ।
बैंकले प्रभावकारीरुपमा आन्तरिक लेखापरीक्षण नगर्दा पत्रिकामा प्रकाशित विवरण र अन्तिम लेखापरीक्षण प्रतिवेदनको वित्तीय विवरण फरक हुने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
‘बैंकले खराब कर्जालाई निकै कममात्रै प्रोभिजन गर्ने गर्छन्, जसले गर्दा आम्दानी बढेको देखिन्छ,’ राष्ट्र बैंकको सुपरिवेक्षण विभागका एक अधिकारी भन्छन्,‘३/४ प्रतिशतले नाफा फरक पर्ने खासै ठूलो विषय होइन । पत्रिका र अन्तिम प्रतिवेदनमा धेरै ठूलो फरक हुनुको अर्थ कम्पनीको व्यवस्थापनले सेयरधनीलाई बास्तविक तथ्यांक नदिएको लाग्छ ।’
वाणिज्य बैंकहरुले आन्तरिकरुपमा तयार गरेको तथ्यांकका आधारमा पत्रिकामावित्तीय अवस्थाको जानकारी प्रकाशित गर्ने गर्छन् । र, उक्त विवरण आफ्नो वेबसाइटमा राख्ने गर्छन् । तर, लेखापरीक्षण प्रतिवेदनमा वित्तीय विवरण प्रकाशित गर्न केन्द्रीय बैंकको स्विकृति आवश्यक हुन्छ ।
यो वर्ष २४ वाणिज्य बैंकको अन्तिम लेखापरिक्षण प्रतिवेदनमा पत्रिका देखाइभन्दा ११ प्रतिशत नाफा घटेको छ । सनराइज र कृषि विकास बैंक बाहेकका २४ बाणिज्य बैंकले पत्रिका ६९ अर्ब ९५ करोड रुपैयाँ नाफा भएको जानकारी दिएका थिए । तर, केन्द्रीय बैंकको स्विकृतिपछि लेखापरीक्षण प्रतिवेदनमा नाफा ७ अर्ब ९० करोडले घटेर ६२ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।
चालू आर्थिक वर्षमा २४ बैंकले ४ अर्ब ४७ करोड रुपैयाँ नियमविपरित असूल गरेको ब्याज फिर्ता गर्नुका साथै करीब ३ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रोभिजन गर्नु परेपछि बैंकको नाफा घटेको हो । जसले गर्दा बाणिज्य बैंकको वितरणयोग्य नाफासमेत घटेको छ ।
‘गत वर्षको वित्तीय विवरण स्वीकृत गर्ने बेलामा यस पटक राष्ट्र बैंक अघिल्ला वर्षहरुभन्दा कडा देखियो,’ पूर्वबैंकर भुवन दाहाल भन्छन्, ‘जसकारण बैंकहरुको अपरिस्कृत र लेखापरीक्षणपछिको नाफामा ठूलो अन्तर देखिन पुग्यो ।’
गत आर्थिक वर्षमा लेखापरीक्षण प्रतिवेदनभन्दा पत्रिकाका देखाएको नाफाको सबैभन्दा धेरै अन्तर सिभिल बैंकको देखिएको छ । अन्तिम लेखापरीक्षण प्रतिवेदनमा सिभिलको नाफा पत्रिकामा प्रकाशित गरेको भन्दा २७.७१ प्रतिशतले घटेको छ । जुन २४ बाणिज्य बैंकमध्ये प्रतिशतका आधारमा सबैभन्दा धेरै अन्तर हो । पत्रिकामा सिभिलले गत आर्थिक वर्षमा १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको विवरण प्रकाशित गरेको थियो । तर, अन्तिम लेखापरीक्षण प्रतिवेदनमा सिभिलको नाफा ३८ करोडले घटेर १ अर्ब रुपैयाँमात्रै कायम भएको छ । गत वर्ष बैंकले नियम विपरित असुल गरेको ११ करोड २० लाख रुपैयाँ ब्याज फिर्ता गर्नुका साथै खराब कर्जामा प्रोभिजन बढ्दा बैंकको नाफा घटेको हो ।
सिभिलपछि लेखापरीक्षणअघि र लेखापरीक्षणपछि नाफाको अन्तर धेरै हुने बैंकको प्रभु । प्रभुको लेखापरीक्षण प्रतिवेदनमा २६.८५ प्रतिशतले नाफा घटेको छ । पत्रिकामा २ अर्ब ६० करोड रुपैयाँ नाफा देखाएको प्रभुको लेखापरीक्षण प्रतिवेदनमा १ अर्ब ९० करोड रुपैयाँमात्रै नाफा कायम भएको छ । गत वर्ष प्रभुले नियमविपरित असूल गरेको १५ करोड रुपैयाँ ब्याज फिर्ता गर्नुका साथै राष्ट्र बैंकले थप ५० करोड रुपैयाँ प्रोभिजन गरिदिएपछि बैंकको नाफा घटेको हो ।
मेगा बैंकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा २५.८६ प्रतिशतले नाफा घटेको छ । पत्रिकामा २ अर्ब ८३ करोड रुपैयाँ नाफा देखाएको मेगाको अन्तिम वित्तीय विवरणमा २ अर्ब ९ करोड रुपैयाँ नाफा कायम भएको छ । राष्ट्र बैंकले साधारणसभा गर्ने अनुमति दिँदा मेगाको नाफा ७३ करोड २३ लाख रुपैयाँले घटाइदिएको छ । गत वर्ष बैंकले १० करोड ६० लाख नियमविपरित असूल गरेको ब्याज फिर्ता गर्नुका साथै बैंकको खराब कर्जा बढ्दा लेखापरिक्षण प्रतिवेदनमा नाफा घटेको हो ।
यस्तै, सेन्चुरी बैैंकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा २५.०९ प्रतिशतले नाफा घटेको छ । सेन्चुरीले पत्रिकामा १ अर्ब ३५ करोड रुपैयाँ नाफा देखाएकोमा लेखापरीक्षण प्रतिवेदन बनाउँदा ३४ करोड रुपैयाँले घटेर १ अर्ब १ करोड रुपैयाँ नाफा कायम भएको छ । गत वर्ष ६ करोड ५० लाख रुपैयाँ बढी असूल गरेको ब्याज फिर्ता गर्नुका साथै केन्द्रीय बैंकले प्रोभिजन थप गरेपछि सेन्चुरीको नाफा घटेको हो ।
प्राइम बैैंकको पनि अन्तिम लेखापरीक्षण प्रतिवेदनमा २४.२८ प्रतिशतले नाफा घटेको छ । प्राइमले पत्रिकामा ३ अर्ब ६८ करोड रुपैयाँ नाफा देखाएकोमा लेखापरीक्षण प्रतिवेदन बनाउँदा ८९ करोड ३० लाख रुपैयाँले घटेर २ अर्ब ७८ करोड रुपैयाँ नाफा कायम भएको छ । गत वर्ष २६ करोड रुपैयाँ बढी असूल गरेको ब्याज फिर्ता गर्नुका साथै केन्द्रीय बैंकले प्रोभिजन थप गरेपछि बैंकको नाफा घटेको हो ।
माछापुच्छ्रे बैंकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा २१.९४ प्रतिशतले नाफा घटेको छ । पत्रिकामा २ अर्ब १६ करोड रुपैयाँ नाफा देखाएको माछापुच्छ्रेको अन्तिम वित्तीय विवरणमा १ अर्ब ६८ करोड रुपैयाँ नाफा कायम भएको छ । राष्ट्र बैंकले साधारण सभा गर्ने अनुमति दिँदा माछापुच्छ्रेको नाफा ४७ करोड ४० लाख रुपैयाँले घटाइदिएको छ । गत वर्ष बैंकले ११ करोड ७० लाख नियम विपरित असुल गरेको ब्याज फिर्ता गर्नुका साथै बैंकको खराब कर्जा बढ्दा लेखापरिक्षण प्रतिवेदनमा नाफा घटेको हो ।
राष्ट्रिय बाणिज्य बैंकको लेखापरीक्षण प्रतिवेदनमा १७.६७ प्रतिशतले नाफा घटेको छ । पत्रिकामा ५ अर्ब २१ करोड रुपैयाँ नाफा देखाएको बाणिज्य बैंकको लेखापरिक्षण प्रतिवेदनमा ४ अर्ब २९ करोड रुपैयाँमात्रै नाफा कायम भएको छ । गत वर्ष बाणिज्यले नियम विपरित असूल गरेको २४ करोड ५० रुपैयाँ ब्याज फिर्ता गर्नुको साथै राष्ट्र बैंकले थप ७४ करोड ४७ लाख रुपैयाँ प्रोभिजन गरिदिएपछि बैंकको नाफा घटेको हो ।
एनसीसी बैंकको अन्तिम लेखापरिक्षण प्रतिवेदनमा १७.३२ प्रतिशतले नाफा घटेको छ । एनसीसीले पत्रिकामा २ अर्ब २ करोड रुपैयाँ नाफा देखाएकोमा लेखापरिक्षण प्रतिवेदन बनाउँदा ३५ करोड रुपैयाँले घटेर १ अर्ब ६७ करोड रुपैयाँ नाफा कायम भएको छ । गत वर्ष ८ करोड ५० लाख रुपैयाँ बढी असूल गरेको ब्याज फिर्ता गर्नुको साथै केन्द्रीय बैंकले प्रोभिजन थप गरेपछि एनसीसीको नाफा घटेको हो ।
यस्तै नबिल बैंकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा १४.४० प्रतिशतले नाफा घटेको छ । नबिलले पत्रिकामा ४ अर्ब ९७ करोड रुपैयाँ नाफा देखाएकोमा लेखापरिक्षण प्रतिवेदन बनाउँदा ७१ करोड ६५ लाख रुपैयाँले घटेर ४ अर्ब २५ करोड रुपैयाँ नाफा कायम भएको छ । गत वर्ष ४७ करोड रुपैयाँ बढी असूल गरेको ब्याज फिर्ता गर्नुका साथै केन्द्रीय बैंकले प्रोभिजन थप गरेपछि नबिलको नाफा घटेको हो ।
एनएमबि बैंकको अन्तिम लेखापरिक्षण प्रतिवेदनमा १४.४ प्रतिशतले नाफा घटेको छ । पत्रिकामा ३ अर्ब ७० करोड रुपैयाँ नाफा देखाएको एनएमबिको अन्तिम वित्तीय विवरणमा ३ अर्ब २९ करोड रुपैयाँ नाफा कायम भएको छ । राष्ट्र बैंकले साधारणसभा गर्ने अनुमति दिँदा एनएमबिकोे नाफा ४१ करोड रुपैयाँले घटाइदिएको छ । गत वर्ष बैंकले १६ करोड ३० लाख नियमविपरित असूल गरेको ब्याज फिर्ता गर्नुका साथै बैंकको खराब कर्जा बढ्दा लेखापरीक्षण प्रतिवेदनमा नाफा घटेको हो ।
सिटिजन्स बैंकको पनि लेखापरीक्षण गर्दा १०.९० प्रतिशतले नाफा घटेको छ । बैंकले गत वर्ष नियमविपरित असूल गरेको १२ करोड रुपैयाँ फिर्ता गर्नुको साथै केन्द्रीय बैंकले प्रोभिजन थप गर्दा बैंकको नाफा २४ करोड ५५ लाख रुपैयाँले घटेको हो । बैंकले पत्रिकामा २ अर्ब २५ करोड रुपैयाँ र लेखापरिक्षण प्रतिवेदनमा २ अर्ब ५ लाख रुपैयाँ नाफा देखाएको थियो ।
सरकारी स्वामित्वको अर्काे नेपाल बैंकको पनि लेखापरिक्षण प्रतिवेदनमा १०.४९ प्रतिशतले नाफा घटेको छ । बैंकले पत्रिकामा ३ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको विवरण सार्वजनिक गरेको थियो । तर, लेखापरीक्षण प्रतिवेदन बैंकको नाफा ३४ करोड २८ लाख रुपैयाँले घटेर २ अर्ब ९२ करोड कायम भएको छ । बैंकले १५ करोड रुपैयाँ नियमविपरित असूल गरेको ब्याज फिर्ता गर्नुको साथै प्राभिजन रकम बढ्दा नाफा घटेको हो ।
२४ बैंकमध्ये ११ बैंकको पत्रिका र लेखापरिक्षण प्रतिवेदनमा प्रकाशित विवरणमा १० प्रतिशतभन्दा कम फरक देखिएको छ । पत्रिका र लेखापरीक्षण प्रतिवेदनबीचमा कम फरक हुँदा बैंक तथा वित्तीय संस्थाले बढी पारदर्शी भएर वित्तीय जानकारी सार्वजनिक गरेको अर्थ लाग्ने राष्ट्र बैंकका एक अधिकारी बताउँछन् ।
सिद्धार्थ बैंकको लेखापरिक्षण प्रतिवेदनमा ९.८४ प्रतिशतले नाफा घटेको छ । बैंकले पत्रिकामा ३ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको विवरण सार्वजनिक गरेको थियो । तर, लेखापरीक्षण प्रतिवेदन बैंकको नाफा ३१ करोड ७० लाख रुपैयाँले घटेर २ अर्ब ९० करोड रुपैयाँ कायम भएको छ । बैंकले ३१ करोड रुपैयाँ नियमविपरित असूल गरेको ब्याज फिर्ता गर्नु परेपछि पत्रिका र लेखापरिक्षण प्रतिवेदनको नाफा फरक देखिएको हो ।
कुमारी बैंकको अन्तिम लेखापरिक्षण प्रतिवेदनमा ९ प्रतिशतले नाफा घट्दा सानीमाको नाफा ८.७१ प्रतिशतले कम भएको छ । कुमारीले पत्रिकामा २ अर्ब ८३ करोड रुपैयाँ नाफा देखाएकोमा लेखापरीक्षण प्रतिवदेनमा २ अर्ब ५७ करोड रुपैयाँ नाफा कायम भएको थियो । कुमारी बैंकले २० करोड रुपैयाँ नियमविपरित असुल गरेको फिर्ता गर्नुको साथै प्रोभिजन रकम समेत बढेपछि नाफा २५ करोड ६० लाख रुपैयाँले घटेको हो ।
सानीमाले ११ करोड रुपैयाँ फिर्ता गर्नुको साथै प्रोभिजन राख्नु पर्ने रकम बढेपछि १९ करोड ९७ लाख रुपैयाँले नाफा घटेको छ । सानिमाले पत्रिकामा २ अर्ब २९ करोड रुपैयाँ नाफा भएको सार्वजनिक गरेको थियो । लेखापरीक्षण प्रतिवेदनमा नाफा २ अर्ब ९ करोड रुपैयाँ कायम भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको लेखापरीक्षण प्रतिवेदनमा ७.०६ प्रतिशतले नाफा घटेको छ । इन्भेष्टमेन्ट बैंकले पत्रिकामा ४ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको विवरण सार्वजनिक गरेको थियो । तर, लेखापरीक्षण प्रतिवेदनमा नाफा २८ करोड ८७ लाख रुपैयाँले घटेर ३ अर्ब ७९ करोड रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकले प्रोभिजन रकम थप गर्नुको साथै नियम विपरित असूल गरेको १३ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएपछि बैंकको नाफा घटेको हो ।
यस्तै, गतवर्ष सबैभन्दा बढी ४८ करोड रुपैयाँ ब्याज फिर्ता गरेको एनआइसी एशिया बैंकको नाफा ३१ करोड रुपैयाँले घटेको छ । राष्ट बैंकका एक अधिकारीका अनुसार एनआइसी एशियाले राष्ट्र बैंकमा वित्तीय विवरण पठाउँदा स्थलगत अनुगमनका क्रममा गरिएका विभिन्न विषयलाई सम्बोधन गरेकाले पत्रिकामा प्रकाशित वित्तीय विवरण र लेखापरिक्षण प्रतिवेदनमा ठूलो अन्तर नदेखिएको हो ।
‘धेरै मानिसहरुले एनआइसीले ४८ करोड रुपैयाँ ब्याज फिर्ता गर्दा समेत पत्रिकामा प्रकाशित वित्तीय विवरणभन्दा ३१ करोड रुपैयाँले मात्रै नाफा घटेको छ,’ ती अधिकारीले भने, ‘हामीले गत वर्ष चैतमै एनआइसीको स्थलगत अनुगमन सकेका थियौं । उहाँहरुले स्थलगत अनुगमनका क्रममा गरिएका टिप्पणीलाई सम्बोधन गर्दै वित्तीय विवरण बनाएकाले पत्रिका र लेखापरिक्षण प्रतिवेदनमा ठूलो अन्तर नदेखिएको हो ।’
राष्ट्र बैंकले तालिका बनाएर विभिन्न बैंकको स्थलगत अनुगमन गर्ने गर्छ । शुरुमा स्थलगत अनुगमन गर्ने संस्थामा भएको खराब कर्जा प्रोथिजन राख्नु पर्ने भए केन्द्रीय बैंकका अधिकारीले निर्देशन दिने गर्छन् । जेठपछि स्थलगत अनुगमन भएका संस्थाको अन्तिम प्रतिवेदन आउन समय लाग्ने हुँदा पत्रिकामा प्रकाशित नाफा र लेखा परिक्षण प्रतिवेदनका नाफा फरक हुने केन्द्रीय बैंकका एक अधिकारी बताउँछन् ।
‘स्थलगत अनुगमनमा भएका व्यक्तिसँग समत सल्लाह गरेर बैंकहरुको वित्तीय विवरण स्विकृत गर्ने गरिन्छ,’ राष्ट्र बैंकका ती अधिकारी भन्छन्,‘शुरुमै स्थलगत प्रतिवदेन पाएका संस्थाले सोही अनुसार वित्तीय विवरण मिलाउन पाउँछन् । तर, स्थलगत प्रतिवेदन नपाएका संस्थाको हकमा केन्द्रीय बैंकले स्थलगत प्रतिवेदन हेरर प्रोभिजन एकिन गर्ने हुँदा नाफामा केही फरक हुन्छ ।’
बैंकहरुले वास्तविक वित्तीय विवरण तयार गरेका छन् भने स्थलगत प्रतिवेदनको खासै केही भुमिका नहुने ती अधिकारीको तर्क छ ।
‘पछिल्लो समय बैंकलाई तथ्यांक तोडमडोर गरेर बढी नाफा देखाउनु परेको छ,’ ती अधिकारी भन्छन्, ‘जसले गर्दा पत्रिका र लेखापरिक्षण प्रतिवेदनको नाफा फरक हुने गरेको छ । ’
गत वर्ष लक्ष्मी बैंकको नाफा ५.६१ प्रतिशतले घट्दा ग्लोबल आइएमईको नाफा ४.७४ प्रतिशतले घटेको छ । लक्ष्मीले पत्रिकामा १ अर्ब ६० करोड रुपैयाँ नाफा प्रकाशित गरेकोमा लेखापरिक्षण प्रतिवेदनमा १ करोड ५१ लाख रुपैयाँ कायम भएको छ । लक्ष्मीले १३ करोड रुपैयाँ नियमविपरित असूल गरेको ब्याज फिर्ता गर्दा पनि ९ करोड रुपैयाँले नाफा घटेको छ ।
ग्लोबलले पत्रिकामा ५ अर्ब २० करोड रुपैयाँ नाफा भएको विवरण सार्वजनिक गरेपनि लेखापरिक्षण प्रतिवेदनमा ४ अर्ब ९५ करोड रुपैयाँ मात्रै नाफा भएको छ । बैंकले ४५ करोड ब्याज फिर्ता गर्दा पनि नाफा २४ करोड ७२ लाख रुपैयाँले घटेको छ । ग्लोबलले पत्रिकामा प्रकाशित गरे भन्दा राष्ट्र बैंकमा फरक वित्तीय विवरण पेश गरेकाले ब्याज फिर्ता गरेको भन्दा नाफा कमले घटेको हो ।
मेलम्ची आयोजनाका लागि चाइनिज कम्पनीको काउन्टर ग्यारेन्टी बस्दा डुबेको ६४ करोड रुपैयाँ फिर्ता आउँदा समेत हिमालयको पत्रिकामा प्रकाशित गरे भन्दा लेखापरीक्षण प्रतिवेदनमा नाफा १२ करोड ४६ रुपैयाँले घटेको छ । बैंकले १२ करोड रुपैयाँ नियम विपरित असूल गरेको ब्याज फिर्ता गर्नु परेपछि नाफा ४.६१ प्रतिशतले घटेको हो ।
हिमालयनले पत्रिकामा २ अर्ब २४ करोड रुपैयाँ नाफा हुने विवरण सार्वजनिक गरेको थियो । लेखापरिक्षण प्रतिवेदनमा बैंकको नाफा २ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ ।
यस्तै, एभरेष्ट बैंकले गत वर्ष १५ करोड ४० लाख रुपैयाँ ब्याज फिर्ता गर्दा पनि नाफा ६ करोड ६६ लाख रुपैयाँले घटेको छ । एभरेष्ट बैंकले राष्ट्र बैंकमा वित्तीय विवरण बुझाउँदा पत्रिका प्रकाशितभन्दा फरक विवरण पठाएकाले ब्याज फिर्ता गरेको रकम भन्दा नाफा कमले घटेको हो । बैंकले पत्रिकामा २ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको विवरण प्रकाशित गरेकोमा लेखापरिक्षण प्रतिवेदनमा नाफा २.६१ प्रतिशतले घटेर २ अर्ब ४७ करोड कायम भएको छ ।
२४ बाणिज्य बैंकमध्ये बैंक अफ काठमाण्डूको नाफा पत्रिकामा प्रकाशितभन्दा २८.२९ प्रतिशतले बढेको छ । बैंकको चिनियाँ ठेकेदार कम्पनीसँग फसेको ८४ करोड रुपैयाँ असूल भएकाले पत्रिकामा प्रकाशित गरेको नाफाभन्दा लेखापरिक्षणको नाफा ५१ करोड २२ लाखले बढेको हो ।
बैंकले पत्रिकामा १ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएको विवरण सार्वजनिक गरेपनि लेखापरिक्षण प्रतिवेदनमा नाफा २ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले २६ करोड १० लाख रुपैयाँ ब्याज फिर्ता नगर्नु परेको भए थप नाफा बढ्ने थियो ।