२५ बैंकलाई नियमविपरित असुल गरेको ४ अर्ब ६६ करोड फिर्ता गर्न निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकको २५ बाणिज्य बैंकलाई ग्राहकसँग नियम विपरित असुल गरेको रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले विपरित ग्राहकसँग असुल गरेको रकम फिर्ता गर्ने प्रक्रिया शुरु गरेका २५ वाणिज्य बैंकलाई साधारण सभा गर्ने अनुमति दिएको छ ।

२६ बाणिज्य बैंकमध्ये कृषि विकास बैंकको वित्तीय विवरण स्वीकृत भएको छैन । कृषि विकास बैंक बाहेकमा २५ बाणिज्य बैंकले ग्राहकसँग नियम विपरित ४ अर्ब ६६ करोड ८ लाख रुपैयाँ असुल गरेको राष्ट्र बैंकले जनाएको छ ।

बिभिन्न बैंकका उच्च अधिकारीका अनुसार बैंकहरुले राष्ट्र बैंकको निर्देशनपछि ग्राहकको खातामा नियम विपरित असुल गरेको रकम फिर्ता गर्न शुरु गरेका छन् । राष्ट्र बैंकका अधिकारीहरुले बैंकले नियम विपरित असुल गरेको रकम फिर्ता लिन सम्बन्धित बैंकमा सम्पर्क गर्न ऋणीहरुलाई आग्रह गरेका छन् ।

राष्ट्र बैंकको ताकेतापछि ग्राहकको खातामा बढी असुल गरेको ब्याज फिर्ता गर्नु पर्दा बैंकको नाफा समेत घटेको छ । गत आर्थिक वर्षको असार मसान्तमा सार्वजनिक वित्तीय विवरणमा आम्दानी देखाएको ब्याज रकम बैंकले ग्राहकलाई फिर्ता गर्नु परेको हो ।

बैंकहरुले सम्झौता विपरित ब्याज असुल गरेको उद्योगी व्यवसायीको गुनासोपछि राष्ट्र बैंकले गत साउन २० गते बैंक तथा वित्तीय संस्थालाई २०७८ असारदेखि २०७९ असार मसान्तसम्म प्रवाह गरेको कर्जाको मासिक ब्याजदर सम्बन्धी विवरण १० दिन भित्र उपलब्ध गराउन निर्देशन दिएको थियो ।

उक्त विवरण अध्ययनपछि राष्ट्र बैंकले गत असोज ११ गते बैंक तथा वित्तीय संस्थालाई नियम विपरित असुल गरेको ब्याज रकम ऋणीको खातामा फिर्ता गर्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले मंसिर १२ गते वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पत्र लेख्दै गत कात्तिक मसान्तसम्म कति ऋणीको खाता नियम विपरित असुल गरिएको ब्याज फिर्ता गरियो र ब्याज फिर्ता गर्न के कति रकम छुट्याइएको छ भन्ने विषयमा १५ दिन भित्र विवरण पेश गर्न निर्देशन समेत दिएको छ ।

राष्ट्र बैंकले ऋणीको नाम, बढी असुल गरिएको ब्याज रकम, खाता नम्बर, कर्जाको प्रकार ब्याजफिर्ताका लागि छुट्याइएको रकम र गत आर्थिक वर्षमा ब्याज फिर्ता गरिएको रकम लगायतका विषयमा विवरण दिन बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएको थियो ।

राष्ट्र बैंकबाट साधारण सभा गर्ने अनुमति पाएका बैंक मध्ये एनआइसी एसिया बैंकले सबै भन्दा बढी रकम फिर्ता गर्नु परेको छ । स्रोतका अनुसार राष्ट्र बैंकले एनआइसी एसिया बैंकलाई सबैभन्दा धेरै ४८ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको छ ।

धेरै रकम फिर्ता गर्नु पर्ने बैंक मध्ये दोस्रो नम्बरमा रहेको नबिल बैंकलाई नियम विपरित असुल गरेको ४७ करोड रुपैयाँ ऋणीको खातामा फिर्ता गर्न निर्देशन दिइएको छ ।

साधारण सभा गर्न स्विकृति पाएका बैंकहरु मध्ये स्टयाण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम रकम फिर्ता गर्नु परेको छ । चार्टर्डले सहवित्तीयकरणको लगानीमा बढी ब्याज लिएको बैंकका एक अधिकारीले जानकारी दिए । चार्टर्ड बैंकका एक अधिकारीका अनुसार बैंकले गत वर्ष नियम विपरित असुल गरेको ४० लाख रुपैयाँ फिर्ता गर्नु परेको छ ।

धेरै रकम फिर्ता गर्नु पर्ने बैंक मध्ये तेस्रो नम्बरमा रहेको ग्लोबल आइएमइ बैंकले ४५ करोड रुपैयाँ फिर्ता गर्न लागेको छ ।

सिद्धार्थ बैंकले ३२ करोड ५० लाख रुपैयाँ, बैंक अफ काठमाडौ र पाइम कर्मसिलय बैंकले २६ करोड रुपैयाँ ग्राहकको खातामा फिर्ता गर्दा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २४ करोड ५० लाख रुपैयाँ फिर्ता गर्नु परेको छ ।

यस्तै, कुमारी बैंकले २० करोड रुपैयाँ, सनराइज बैंकले १९ करोड १० लाख रुपैयाँ, एनएमबी बैंकले १६ करोड ३० लाख रुपैयाँ, एभरेष्ट बैंकले १५ करोड ४० लाख रुपैयाँ, नेपाल बैंक लिमिटेडले १५ करोड रुपैयाँ, प्रभु बैंकले १५ करोड रुपैयाँ, लक्ष्मी बैंकले १३ करोड ३० लाख रुपैयाँ, हिमालयन बैंक १२ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले १२ करोड रुपैयाँ, सिटिजन्स बैंकले १२ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले ११ करोड ७० लाख रुपैयाँ, सिभिल बैंकले ११ करोड २० लाख रुपैयाँ, मेगा बैंकले ११ करोड रुपैयाँ, सानीमा बैंकले ११ करोड रुपैयाँ, एनसीसी बैंकले ८ करोड ५० लाख रुपैयाँ, सेन्चुरी बैंकले ६ करोड ५० लाख रुपैयाँ र एसबीआई बैंकले ६ करोड ७५ लाख रुपैयाँ नियम विपरित असुल गरेको रकम फिर्ता गर्ने प्रक्रिया शुरु गरेका छन् ।

‘अब ऋणीहरुले बैंकमा सम्पर्क गरेर बढी असुल गरेको ब्याज फिर्ता माग्नु पर्छ,’ राष्ट्र बैंकका एक अधिकारी भन्छन्,‘ नियम विपरित ग्राहकलाई झुक्याएर बैंकले एक रुपैयाँ पनि लिन पाउँदैन ।’

राष्ट्र बैंकले बढी असुल भएको ब्याज फिर्ता नगर्ने बैंकका विषयमा उजुरी गर्न समेत आग्रह गरेको छ ।

‘हामीले पुष मसान्तसम्म ऋणीको खातामा बढी असुल गरेको रकम फिर्ता गर्न निर्देशन दिएका छौं,’ राष्ट्र बैंकका एक अधिकारीले भने,‘यदी कुनै ग्राहकको खातामा रकम फिर्ता नभएमा हाम्रो कार्यालय र राष्ट्र बैंकको गुनासो डट एनआरबी डट ओआरजी डट एनपीमा गएर समेत उजुरी गर्न सकिनेछ ।’


क्लिकमान्डु