पतञ्जली आयुर्वेदको वार्षिक व्यापार डेढ अर्ब, ६२% हिस्सा डिसवास र डिटर्जेन्टको



काठमाडौं । पतञ्जली ब्रान्डको विभिन्न वस्तु बिक्री वितरण गर्दै आएको पतञ्जली आयुर्वेद प्रालिले एकै वर्ष साढे १ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ५० करोड २० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा १ अर्ब २५ करोड ९० लाख रुपैयाँ, सन् २०२० मा ९६ करोड ६० लाख रुपैयाँ र सन् २०१९ मा ६१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले विभिन्न प्रकारका वस्तु उत्पादन गरी पतञ्जली ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । विशेषगरी खाद्यान्न, पर्सनल केयर र अन्य घरायसी सामग्री बेच्दै आएको कम्पनीले अल्पकालीन कर्जाका लागि ९५ करोड रुपैयाँ रेटिङ गराएको छ । जसमा कम्पनीले एथ्रीको रेटिङ पाएको छ ।

भारतीय कम्पनी ग्याङ्गोत्री आयुर्वेदा लिमिटेडको ९० प्रतिशत हिस्सा रहेको कम्पनीमा नेपालको लागि महतो ग्रुप कम्पनी र राम जानकी इन्भेष्टमेन्ट प्रालिको स्वामित्व छ ।

कम्पनीकाअनुसार पछिल्लो दुई वर्षमा २५ प्रतिशतले आम्दानी बढ्दै गएको छ । कम्पनीले आम्दानी गरेकोमध्ये सबैभन्दा बढी भाडा माझ्न प्रयोग हुने वस्तु र डिटरजेन्ट पाउडरबाट भएको उल्लेख छ ।

देशभर एक सयभन्दा बढी डिलर रहेको कम्पनीले सन् २०२२ मा आम्दानी गरेकोमध्ये ६२ प्रतिशत नै डिसवास र डिटरजेन्टको हिस्सा रहेको जनाएको छ । उक्त वस्तुको हिस्सा सन् २०२० मा ४२ प्रतिशत मात्रै थियो ।

भारतीय कम्पनीको ९० प्रतिशत हिस्सा रहेको कम्पनीले पतञ्जलीसँग सम्झौता गरेर पतञ्जलीको लोगो/ब्रान्ड/ट्रेडमार्क प्रयोग गर्दै आएको छ ।


क्लिकमान्डु