नगद अनुदानले फलामजन्य वस्तुको निर्यातमा उछाल, ५ महिनामा करिब ४ अर्बको निकासी



काठमाडौं । सरकारले स्टिलजन्य वस्तुको निर्यातमा नगद अनुदानको व्यवस्था गरेसँगै निकासीमा नयाँ रेकर्ड कायम भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा विभिन्न ३६ वस्तुको निर्यात गर्ने उद्योगी व्यवसायीको खातामा सरकारले १५ दिनभित्रै नगद जम्मा गरिदिने व्यवस्था गरेको थियो । जसमा स्टिलजन्य वस्तु पनि समावेश गरेको छ ।

सरकारले स्टिलजन्य वस्तुको निर्यातमा पनि नगद अनुदानको व्यवस्था गरेसँगै चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा फलामे तथा स्टिलजन्य वस्तुको निकासीमा नयाँ रेकर्ड कायम भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालले विगतको दिनमा वार्षिक ४ अर्ब रुपैयाँ बराबरको पनि फलाम तथा स्टिलजन्य वस्तु निर्यात गर्न सकेको थिएन । तर, चालु आर्थिक वर्षको ५ महिनाको अवधिमै करिब ४ अर्बको फलाम तथा स्टिलजन्य वस्तु निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि मंसिरसम्ममा नेपालबाट विभिन्न देशमा ३ अर्ब ७६ करोड २७ लाख ९१ हजार रुपैयाँको ३ करोड ५ लाख ४६ हजार केजी फलामजन्य वस्तु निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालबाट ६३ करोड २७ लाख १० हजार रुपैयाँको ४७ लाख ५२ हजार केजी फलाम तथा स्टिलजन्य वस्तु निर्यात गरेको थियो । गत वर्षको पाँच महिनाको अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा फलाम तथा स्टिलजन्य वस्तुको निर्यात ४९४.७ प्रतिशतले बढेको छ ।

सरकारले उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टील, फुटवेयर, प्रशोधित पानी, सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेस आउटसोर्सिङ जस्ता सेवाहरु पहिचान गरी निर्यात गर्नेले ८ प्रतिशत निर्यात अनुदान पाउने छन् । कागजात पेश गरेको १५ कार्यदिनभित्र भुक्तानी गरिसक्ने गरिसक्नुपर्ने कार्यविधिमा उल्लेख छ । निर्यात सम्बन्धी कागजागतलाई उद्योग विभागमार्फत् प्रमाणित कागजात बुझाउनुपर्नेछ ।

चुलिँदो ब्यापार घाटा कम गर्न र आन्तरिक उत्पादन बढाई विदेशी मुद्राको भण्डारण बलियो बनाउने उदेश्यले सरकारले निर्यातमा प्रोत्साहन गर्दै ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा चालु आर्थिक वर्षको बजेटमा गरेको थियो ।

त्यस्तै, नेपालले गत आर्थिक वर्षमा ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँको फलाम तथा स्टिलजन्य वस्तु निर्यात गरेको थियो । तर, नेपालको आयातको तुलनामा उक्त वस्तुको निर्यात हिस्सा निकै कम देखिन्छ । नेपालले फलाम तथा स्टिलजन्य वस्तु उत्पादन गरी विभिन्न देशमा निर्यात गर्दै आएको वस्तुको कच्चा पदार्थ अधिकांश विदेशबाट आयात गरी उत्पादन गर्नुपर्ने बाध्यता छ ।

नेपालले आयात गर्ने वस्तुमध्ये पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ भने दोस्रो नम्बरमा फलाम तथा स्टिलजन्य वस्तु तथा कच्चा पदार्थ रहेको छ । नेपालले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ६३ अर्ब ९० करोड २२ लाख रुपैयाँको फलाम तथा स्टिलजन्य वस्तु र कच्चा पदार्थ आयात गरेको थियो । गत वर्षको सोही अवधिमा ८० अर्ब २९ करोड ९३ लाख रुपैयाँको आयात गरेको थियो । साथै, नेपालले गत आर्थिक वर्षमा मात्रै १ खर्ब ८५ अर्ब २० करोड ४९ लाख रुपैयाँको फलाम तथा स्टिलजन्य वस्तु र कच्चा पदार्थ आयात गरेको थियो ।

आयातको हिस्सा हेर्दा फलाम तथा स्टिलजन्य वस्तुको निर्यातको अवस्था निकै कमजोर देखिन्छ । तर, व्यवसायीहरुले उत्पादनको अवस्था कमजोर हुँदासमेत निर्यात गरिरहेका छन् । नेपालबाट विशेषगरी फ्ल्याट रोल्ड आइरन/स्टिल र रोल्ड आइरन/स्टिल गर्दै आएका छन् । त्यससँगै, नेपालबाट भान्सामा प्रयोग हुने विभिन्न प्रकारका स्टिलजन्य वस्तु र तार निर्यात गरेका छन् ।

युरोपमा समेत निर्यात

नेपालबाट निर्यात हुँदै फलाम तथा स्टिलजन्य वस्तु युरोपका विभिन्न देशमा पुगेको पाइन्छ । उक्त वस्तुको मुख्य बजार भारत रहेपनि केही मात्रामा युरोपमा समेत निर्यात भएको छ ।

नेपालले यो वर्षको पाँच महिनाको अवधिमा भारतमा मात्रै ३ अर्ब ६५ करोड ३८ लाख ४७ हजार रुपैयाँको ३० लाख ४२ केजी फलाम तथा स्टिलजन्य वस्तु निर्यात गरेको छ ।

भारतपछि युरोप मुलुक रोमनियामा सबैभन्दा बढी निर्यात गरेको छ । विभागको तथ्याङअनुसार पाँच महिनाको अवधिमा ७ करोड २२ लाख २८ हजार रुपैयाँको ४ लाख ७ हजार केजी फलाम तथा स्टिलजन्य वस्तु निर्यात गरेको देखाउँछ ।

त्यस्तै, १ करोड ८१ लाख ३१ हजार रुपैयाँको अमेरिकामा, ६३ लाख ६३ हजार रुपैयाँको अष्ट्रेलियामा, ८ लाख ६५ हजार रुपैयाँको क्यानाडामा, ३ लाख ७४ हजार रुपैयाँको चीनमा, १७ लाख ८८ हजार रुपैयाँको नामीबियामा, ६५ लाख ४१ हजार रुपैयाँको थाइल्यान्डमा र ८ लाख २३ हजार रुपैयाँका बेलायतमा फलाम तथा स्टिलजन्य वस्तु निर्यात गरेको छ ।

साथै, नेपालले भारत, बेलायत, इन्डोनेसिया, मलेसिया, चीन, अमेरिका, दक्षिण कोरिया, भियतनाम, हङकङ, ताइवानजस्ता देशबाट फलाम तथा स्टिलजन्य वस्तु आयात गर्दै आएका छन् ।


अरिष्मा मोक्तान