आर्थिक संकटतर्फ पाकिस्तान: पिठो र खानाका लागि मानिसहरु गरिरहेका छन् झगडा



एजेन्सी । पाकिस्तानसँग सम्बन्धित कयौं भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । धेरैजसो भिडियोमा मानिसहरु पिठो र खानाका लागि आपसमा झगडा गरिरहेका देख्न सकिन्छ ।

यी भिडियो क्लिप सामाजिक सञ्जालमा पाकिस्तानको आर्थिक अवस्था र बढ्दो महँगीको भयावह अवस्था देखाउनका लागि सेयर भइरहेको छ ।

भिडियोमा केही विज्ञको भनाइ पनि भाइरल भइरहेको छ । एक यस्तै टिप्पणी अमेरिकाका डेलावेयर विश्वविद्यालयका प्राध्यापक मुक्तर खानको छ ।प्रोफेसर खान भारतीय मूलका अमेरिकी नागरिक हुन् ।

खान एक पाकिस्तानी पत्रकारसँग भन्छन्, ‘भारत र पाकिस्तानबीच शक्तिको जुन असन्तुलन छ, त्यो पाकिस्तानको पक्षमा भए तपाईंहरु कश्मीरमा आक्रमण गर्नुहुन्थ्यो । भारतमा पैसा छैन, अर्थव्यवस्था डुब्न लाग्यो, तमिलनाडु अलगरुपमा गइरहेको छ, आसाम अलग गइरहेको छ र अब हमला गरिदिउँ भनिदिनु हुन्थ्यो । पाकिस्तानको खराब अवस्थामा भारतको नेतृत्वले फाइदा उठाइरहेको छैन ।’

पाकिस्तानी पत्रकार फखर युसुफजईसँग खानले भने, ‘अमेरिका पाकिस्तानलाई जति सहयोग गर्न सक्थ्यो त्यो गरिसक्यो । अब अमेरिकाको रुची पाकिस्तानमा छैन । उसलाई आतंकवादसँग लड्नु छ र अब पाकिस्तानमाथि उसले भरोसा गर्न सक्दैन । टीटीपीको नयाँ नक्शामा पीओके पनि छ । अहिले पनि पाकिस्तान समस्यामा छ तर भारत उसलाई थप संकटमा पुर्‍याउन चाँहदैन ।’

पाकिस्तान आफ्नो आर्थिक दुरावस्थाकाबीच ऋण र केही सहयोग मिलेकोमा खुसी मनाइरहेको छ । किनकी, पाकिस्तानलाई स्विट्जरल्याण्डको जेनेभामा सोमबार एक दाता सम्मेलनमा बाढीबाट बच्नका लागि ९ अर्ब डलरभन्दा धेरैको सहयोग मिल्ने आश्वासन दिइएको छ ।

पाकिस्तानका लागि यो समाचार ठूलो राहतभन्दा कम छैन । जब देशको ढुकुटी तिव्रगतिमा खाली भइरहेको छ । पाकिस्तानसँग करीब साढे चार अर्ब डलरको विदेशी मुद्रा सञ्चिति बचेको छ र यो केही हप्ताको आयातमा खर्च हुने छ ।

पाकिस्तानमाथि ऋण बढ्दो छ । जेनेभा कन्फरेन्समा ९ अर्ब डलर जुटाएको विषयलाई शहबाज शरीफको सरकार आफ्नो उपलब्धिको रुपमा देखाइरहेको छ ।

साऊदीको सहयोगले हुँदैन समस्या समाधान

यसअघि मंगलबार साउदी अरबले पाकिस्तानको पुरानो ऋण र लगानीलाई बढाउने विचार गरिरहेको संकेत दिएको थियो ।

साऊदीले पाकिस्तानलाई दिएको तीन अर्ब डलरको ऋणलाई पाँच अर्ब डलर बनाउने र लगानी पनि बढाउने बताएको छ ।

यस बाहेक पाकिस्तानलाई विश्वका अन्य एजेन्सीहरुबाट ८.७ अर्ब डलर आगामी तीन वर्षमा दिने प्रतिवद्धता व्यक्त गरिएको छ । अहिलेसम्म यो सहयोग ऋणको रुपमा हो वा सहयोगको रुपमा भन्ने स्पष्ट भएको छैन ।

जेनेभामा यो कन्फरेन्स संयुक्त राष्ट्र संघको तर्फबाट आयोजना गरिएको थियो । पाकिस्तानमा विनाशकारी बाढी आएको थियो र यसका कारण लाखौ मानिस नराम्रोसँग प्रभावित भएका थिए ।

बाढी पीडितको सहयोगका लागि राष्ट्र संघले यो कन्फरेन्समा सहयोगको अपील गरेको थियो ।

यूएन र पाकिस्तानको अपीलमाथि कयौं सरकार, संस्थान र मानिसहरुले गरेर ९ अर्ब डलर भन्दा धेरैको सहयोगको आश्वासन दिएका छन् ।

यो पछिल्लो अवस्थालाई लिएर पाकिस्तानको प्रमुख अंग्रेजी पत्रिका डानले ११ जनवरीमा सम्पादकीय लेखेको छ ।

आफ्नो सम्पादकीय टिप्पणीमा डानले लेखेको छ, ‘सरकारका अधिकारी यस्तो चर्चा गरिरहेका छन् कि मानौं यहाँको आर्थिक संकटको समाधान मिलेको छ । वास्तविकता त यो हो कि यसले पाकिस्तानमा डलरको समस्या समाधान हुन गइरहेको छैन ।’

‘पाकिस्तानको केन्द्रीय बैंक एसबीपीमा विदेशी मुद्रा सञ्चिति कम भएर ४.५ अर्ब डलर भएको छ । यो रकम ४ हप्ताभन्दा पनि कम समयका लागि आयातको बिल तिर्नका लागि हो । पाकिस्तानका लागि तत्काल डलरको आवश्यकता छ । जबसम्म अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पाकिस्तान आफ्नो कुराकानी निर्णयमा पुर्‍याउँदैन, तबसम्म जेनेभा कन्फरेन्स र अन्य एजेन्सीहरुबाट सहयोग पाउन मुस्किल हुने छ ।’

चिन्ताजनक स्थिति

डानमा लेखिएको छ, ‘प्रधानमन्त्री चाहन्छन् कि आईएमएफ डीलका लागि आर्थिक सुधारको दबाब नदेओस् । यो सुधार हो- सिंगल मार्केट बेस्ड एक्सचेञ्ज रेट, बिजुलीको बिल र ग्यासको मूल्य वृद्धि र कर बढाउनू । पाकिस्तान चाहन्छ कि आईएमएफको सहयोगभन्दा पहिला बाढी प्रभावितलाई केही ठोस सहयोग पुगोस् । पाकिस्तानको जुन संकट छ, त्यो यो ऋण, सहयोग र भरोसाबाट समाधान हुने देखिएको छैन ।’

‘शरीफले जेनेभा कन्फरेन्समा ८ अर्ब डलर जुटाउने लक्ष्य राखेका थिए तर त्यो भन्दा धेरै रकम दिने प्रतिवद्धता जारी भएको छ । तर यो समस्या समाधान होइन पाकिस्तानले लामो समयको आर्थिक सुधार गर्नु पर्नेछ’ सम्पादकीयमा लेखिएक छ ।

पाकिस्तानका आर्थिक स्तम्भकार फारुख सलीमले समाचार संस्था पब्लिक न्युजको एक कार्यक्रममा भने, ‘पाकिस्तानसँग साढे चार अर्ब डलर छ र यो मुस्किलले २० दिन चल्छ । निकै खतरनाक स्थिति छ । मलाई लाग्छ कि पाकिस्तानलाई यदी कसैले बचाउन सक्छ भने त्यो आईएमएफ हो । साऊदी अरबबाट पैसा आउन ढिलाइ हुन सक्छ ।’

हरेक सामान महँगो

एक डलर लिनका लागि पाकिस्तानी रुपैयाँ २४० खर्च गर्न परिहरहेको छ । पेट्रोलियम पदार्थदेखि लिएर खाने पिउने सामानको मूल्यले आकाश छोइरहेको छ ।

पाकिस्तानमा प्याजको मूल्य प्रतिकिलो २४० रुपैयाँ छ । पाकिस्तान सरकारले ऊर्जा खपत कम गर्नका लागि बजार, मल र बिबाह हलहरु चाँडै बन्द गर्न आदेश दिएको छ ।

गत हप्ता पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद आसिफले बजार र मल रात साढे ८ हुनु पर्ने बताएका थिए । विवाह हल १० बजे बन्द गर्नु पर्ने उनले बताए ।

आसिफका अनुसार यसबाट ६० अर्ब रुपैयाँ बचाउन सहयोग मिल्ने छ ।

उता विदेशी मुद्रा सटही डिलरहरुले भने पाकिस्तानबाट अफगानिस्तानमा डलरको तस्करी भइरहेको दाबी गरिरहेका छन् । यसका कारण पाकिस्तानी रुपैयाँ थप कमजोर भइरहेको छ ।

गत महिना एक्सचेन्ज कम्पनीज असोसिएशन अफ पाकिस्तानका प्रमुख मलिक बोस्तानले भनेका थिए, ‘हरेक महिना आधिकारिक र अनाधिकारिक ट्रेडको माध्यमबाट २ अर्ब डलर अफगानिस्तान गइरहेको छ । अफगान ट्रान्जिट ट्रेडको दुरुपयोग भइरहेको छ । सबै बोर्डरबाट तस्करी भइरहेको छ । यसले पाकिस्तानको विदेशी मुद्रा सञ्चिति सिधै प्रभावित भइरहेको छ ।’

१९६५ मा अफगानिस्तान र पाकिस्तानबीच अफगान ट्रान्जिट ट्रेड सम्झौता भएको थियो । यसका आधारमा अफगानिस्तानले पाकिस्तानको कराची पोर्ट प्रयोग गर्ने गरेको छ ।

बीबीसीबाट


क्लिकमान्डु