शेखर गोल्छाको बजाज एसेम्बल गर्ने हुलास अटो क्राफ्टको व्यापार ५०% ले घट्यो



काठमाडौं । बजारमा सवारी साधनको माग नहुँदा बजाज ब्रान्डको सवारी साधन एसेम्बल गर्ने हुला अटो क्राफ्टको व्यापार ५० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को ५ महिनाको तुलनामा सन् २०२३ को साही अवधिमा ५० प्रतिशतले व्यापारमा कमी आएको हो ।

कम्पनीअनुसार बजारमा सवारी साधनको माग निकै कमजोर हुँदा व्यापारमा ठूलो गिरावट आएको जनाएको छ । कम्पनीले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा २ अर्ब ६४ करोड रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १० अर्ब ७४ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२१ मा १२ अर्ब ७१ करोड १० लाख रुपैयाँ र सन् २०२० मा ७ अर्ब ६० करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले नेपाली बजारमा सवारी साधनको एसेम्बल गरी बजाज ब्रान्डको दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधन बिक्री वितरण गर्दै आएको छ । कम्पनीले एसेम्बल गरेको सवारी साधन हंशराज हुलासचन्द कम्पनमिार्फत् बिक्री वितरण गर्दै आएको छ ।

शेखर खोल्छाको ८० प्रतिशत र २० प्रतिशत आकाश गोल्छाको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ६३ करोड ८८ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब ६० करोड ८८ लाख रुपैयाँ रेटिङ गराएको छ । जसमा कम्पनीले लिएको ऋणलाई वाच विथ नेगेटिभ इम्प्लिकेशनमा राखेको छ ।

सवारी साधन क्षेत्रमा सबैभन्दा बढी चाडपर्वको अवसरमा बढी बिक्री वितरण हुँदै आएको छ । विशेषगरी दशैं र तिहारको समयमा मात्रै करिब ४० प्रतिशत व्यापार हुने गरेकोमा यो वर्ष तरलता अभाव र ब्याजदर वृद्धिले चाडपर्वको व्यापारमा पनि कमी आएको कम्पनीको भनाइ छ । इक्रा नेपालअनुसार कम्पनीले ५ प्रतिशत बढीले नाफा कमाउने अनुमान गरेको छ ।


क्लिकमान्डु