शेखर गोल्छाले पल्सर बेच्ने हंसराज हुलासचन्दको व्यापार १३% ले घट्यो, २२ अर्बको कारोबार



काठमाडौं । बजाज ब्रान्डको दुई पाङ्ग्रे सवारी साधन बिक्री गर्ने हंसराज हुलासचन्द एण्ड कम्पनीको व्यापार १३ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा १२.९६ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२१ मा २५ अर्ब ४२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२२ मा २२ अर्ब १३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।

त्यस्तै, सन् २०२० मा कम्पनीले सन् २०२० मा १६ अर्ब ७१ करोड २० लाख रुपैयाँ र सन् २०१९ मा २१ अर्ब ६९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले बजाज ब्रान्डको दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधन, केटीएम ब्रान्डको मोटरसाइकल, टीभएएस ब्रान्डको टायर सर्भो लुब्रिक्यान्टजस्ता वस्तु बिक्री वितरण गर्दै आएको छ ।

साथै, कम्पनीले पल्सर ब्रान्डको मोटरसाइकल पनि बिक्री गर्दै आएको छ । जसमा कम्पनीले सन् २०२२ मा आम्दानी गरकोमध्ये ७१ प्रतिशत हिस्सा पल्सर बाइकको रहेको उल्लेख छ ।

कम्पनीको देशभर एउटा बजाज शोरुम र केटीएम बाइकको आफ्नै दुई वटा शोरुम छन् भने देशभर १५० वटा प्रादेशिक डिलर छन् ।

गोल्छा ग्रुपद्वारा सञ्चालित यस कम्पनीमा शेखर गोल्छाको ५३.८ प्रतिशत रहेको छ । कम्पनीमा गोल्छा परिवारकै अन्य १९ जनाको शेयर स्वामित्व छ ।

कम्पनीले अल्पकालीन कर्जाका लागि साढे ५ अर्बको रेटिङ गराएको छ । इक्रा नेपालअनुसार कम्पनीले लिएको ऋण वाच विथ नेगेटिभ इप्लिकेशनको संज्ञा पाएको ।

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा लामो समय प्रतिबन्ध गरेको थियो । जसले गर्दा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा गत वर्षको तुलनामा ६० प्रतिशत व्यापारमा कमी आएको कम्पनीले जनाएको छ । साथै, व्यापार हुन नसक्दा कम्पनीले लिएको ऋण लिन निकै चुनौती थपिएको छ ।

बजारमा दुई पाङ्ग्रे सवारी साधन होन्डा, यामाहालगायत अन्य ब्रान्डमा ठूलो प्रतिस्पर्धा छ । कम्पनीअनुसार सन् २०२२ मा दुई पाङ्ग्रे सवारी साधन बजाज ब्रान्डको बजार हिस्सा ४० प्रतिशत रहेको छ ।

कम्पनीको देशभर १५३ वटा बिक्री गर्ने शाखा छन् । उक्त शाखाबाट तीन पाङ्ग्रे सवारी साधन पनि बिक्री हुन्छ । त्यस्तै, तीन पाङ्ग्रे सवारी साधनको पनि बजारमा ५४ प्रतिशत हिस्सा रहेको कम्पनीको भनाइ छ ।


क्लिकमान्डु