हामा स्टिलले एकै वर्ष गर्यो पौने ४ अर्बको व्यापार, ४ अर्ब १७ करोडको रेटिङ



काठमाडौं । हामा आइरन एण्ड स्टिल उद्योग प्रालिले एकै वर्ष पौने ४ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब ८० करोड ६० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा २ अर्ब ७३ करोड ५० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब ८० करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९८९ मा स्थापना भएको कम्पनीले टीएमटी बार उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । वार्षिक १ लाख २० हजार मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले बाइन्डिङ वायर, एचबी वायर र प्लेन राउन्डजस्ता वस्तु आयात गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब १७ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले सन् दीर्घकालीन कर्जाका लागि ९६ करोड ९८ लाख रुपैयाँ अर्थात् बी र अल्पकालीन कर्जाका लागि ३ अर्ब २० करोड रुपैयाँ अर्थात् एफोर रेटिङ गराएको छ ।

‘हामा’ ब्रान्डमा स्टिलजन्य वस्तु बिक्री गर्दै आएको छ । बालकृष्ण श्रेष्ठ अध्यक्ष रहेको कम्पनीको देशभर एक सय डिलर र सब–डिलर छन् । कम्पनीले सन् २०२२ मा ४.५७ प्रतिशत मात्रै नाफा कमाएको छ । कम्पनीले सन् २०२१ मा १०.९५ प्रतिशत नाफा कमाएको थियो ।

कम्पनीअनुसार कोभिड–१९ ले शिथिल बनाएको अवस्थामा समेत कारोबार सकारात्मक बनेको छ । कम्पनीले आम्दानी गरेकोमध्ये ९० प्रतिशत हिस्सा टिएमटी बारको रहेको छ ।

भारतबाट एमएस विलेट आयात गरी नेपाली बजारमा उत्पादन गर्दै बिक्री गर्दै कम्पनीको कच्चा पदार्थको हिस्सा मात्रै करिब ९५ प्रतिशत छ ।


क्लिकमान्डु