अर्थ सचिवमा तोयम रायमाझी, राजस्वको जिम्मेवारी रामप्रसाद घिमिरेलाई



काठमाडौं । सरकारले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले अर्थ सचिवमा तोयम रायमाझी र राजस्व सचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई दिने निर्णय गरेको छ । रायालाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय र घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अर्थमा ल्याइएको हो ।

रायाले विगतमा भन्सार विभागको महानिर्देशक र अर्थ मन्त्रालयको विभिन्न महाशाखा प्रमुख भएर काम गरेका थिए ।
राजस्व सचिव नियुक्त घिमिरेसँग भने अर्थ मन्त्रालय र राजस्व प्रशासनमा काम गरेको कुनै अनुभव छैन ।

गत आर्थिक वर्ष बराबर पनि राजस्व संकलन नभएको बेलामा अनुभव नै नभएका कर्मचारीलाई राजस्व सचिवको जिम्मेवारी दिइएको छ ।

हाल अर्थ सचिवमा कृष्णहरी कर्ण र राजस्व सचिवमा रामेश्वर दंगाल रहेका थिए । दंगाललाई अख्तियारको जिम्मेवारी दिइएको छ भने कर्णलाई प्रधानमन्त्री कार्यालय लगिएको स्रोतले जानकारी दिएको छ ।

अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले अर्थ र राजस्व सचिव हेरफेरपछि केही सहसचिव पनि सुरुवा गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार हाल राष्ट्रिय योजना आयोगमा रहेका धनीराम शर्मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको श्री कृष्ण नेपाल, श्रम मन्त्राल मन्त्रालयमा रहेका रमेश अर्याल लगायतका केही सहसचिवलाई अर्थमा ल्याउने तयारी रहेको छ ।

यस्तै अर्थ मन्त्रालयबाट भुपाल बराल, इश्वरी अर्याल, बाबुराम सुवेदी लगायतका केही सहसचिव बाहिरिने स्रोतले जनाकारी दिएको छ ।


क्लिकमान्डु