खाद्यान्नमा अचाक्ली मूल्य वृद्धि, पाँच वर्षमा दोब्बरले बढ्यो दालको मूल्य



काठमाडौं । नेपाली भान्सामा धेरै खपत हुने खाद्यान्नका वस्तुहरुमा पर्छ, चामल, दाल, गेडागुडीलगायतका वस्तुहरु । भान्सामा नभइ नहुने यी वस्तुहरुहरुको बजार मूल्य बेलगाम देखिएको छ । सर्वसाधारणका लागि अत्यावश्यक रहेका वस्तुहरुको पछिल्लो पाँच वर्षको मूल्यलाई नियाल्दा यी वस्तुहरुको मूल्य दोब्बरले बढेको देखिन्छ ।

नेपाली भान्सामा बढी खपत हुने चामल, दाल, गेडागुडीलगायत अन्य अधिकांश खाद्यान्नको हरेक वर्ष मूल्य वृद्धि भइरहेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार बजारमा अहिले चामल, दाल, गेडागुडीदेखि अन्य वस्तुको अत्याधिक मूल्य बढेको छ ।

नेपालले विभिन्न देशबाट आयात गरी खाद्यान्न बिक्री वितरण गर्दै आएको छ । उत्पादनको क्षेत्रमा नेपाल निकै कमजोर हुँदा अधिकांश वस्तुमा परनिर्भर छ । जसले गर्दा अन्तर्राष्ट्रिय बजारले नेपाली बजारको मूल्य तय गर्छ । अन्तर्राष्ट्रिय स्तरमा नै पछिल्लो समय खाद्यान्न लगायतका वस्तुहरुको मूल्य वृद्धि भइरहेका कारण नेपाली बजारमा समेत यी वस्तुहरु आचाक्ली रुपमा महंगीएको देखिएको छ ।

पछिल्ला वर्षहरुमा कोरोना महामारी, युक्रेन–रुस युद्ध, अन्तर्राष्ट्रिय समूदायहरुबीचको मनमुटावलगायतका कारणहरुले पनि अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नको मूल्यमा अत्याधिक वृद्धि देखिएको हो । र, यसको असर नेपाली बजारदेखि नेपाली भान्सासम्ममा प्रत्यक्ष रुपमा परिरहेको छ ।

संसारभरकै मागका लागि खाद्यान्न तथा रासयानिक मलको प्रमुख निर्यातकर्ता युक्रेनमा पछिल्लो समय रुसले आक्रमण गरेका कारण यसले पनि विश्वभरकै खाद्यान्नको उत्पादनमा असर गरेको र त्यसले आचाक्ली रुपमा मूल्य वृद्धि गराएको अध्ययनहरुले जनाएका छन् । सँगै आपूर्ति प्रणाली पनि इन्धनलगायत क्षेत्रमा युद्ध र कोरोना महामारीले गरेको असरका कारण प्रभावित भएको छ ।

नेपालमा, सरकारले आफ्नै देशको उत्पादन बढाउने र देशलाई आवश्यक खाद्यान्न उपलब्ध गराउने भनिरहँदा सर्वसाधारणले भने अत्यावश्यक खाद्यान्नका वस्तुकै लागि महंगो मूल्य तिरिरहेका छन् । सरकराले अर्बौं रुपैयाँ देशको माग धान्न पुग्ने खाद्यान्न उत्पादन गर्ने र सर्वसाधारणलाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउने भनेतापनि सर्वसाधारणको पक्षमा भने ठीक उल्टो देखिएको छ । वर्षेनी आयातमाथि निर्भर रहेको भान्सामा सर्वसाधारण बढ्दो महंगीकाबीच यी वस्तुहरुको उपयोग गर्न बाध्य भएका छन् ।

एकातिर खाद्यान्नको मूल्य वृद्धि आचाक्ली भइरहँदा उपभोक्ताको आम्दानी सीमित रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकको गत आर्थिक वर्ष २०७८/०७९ को तथ्यांककाअनुसार खाद्य वस्तुमा मूल्य वृृद्धि ५.६९ प्रतिशत छ भने उपभोक्ताहरुको आम्दानी (तलब तथा ज्यालादर सूचकांक)मा ६.६५ प्रतिशतको वृद्धि देखिएको छ । आम्दानीको प्रमुख हिस्सा खपत हुने अत्यावश्यक खाद्यान्नका वस्तुहरुमै आचाक्ली मूल्य वृद्धि देखिँदा गैर खाद्य वस्तुहरुमा पनि उल्लेख्य मूल्य बढेको छ ।

एक वर्षमै तीन थरी चामलमा २० रुपैयाँसम्म मूल्य वृद्धि

नेपाली भान्सामा सबैभन्दा धेरै खपत हुने खाद्यान्नमा पर्छ चालम । हरेक घरघरमा दैनिक रुपमा उपयोग हुने चामलकै लागि पनि सर्वसाधारणले वर्षेनी महँगी भोग्नु परेको छ ।

चामलको मूल्य पछिल्लो पाँच वर्षमा प्रतिकेजी नै ३० रुपैयाँसम्म बढेको तथ्यांकले देखाउँछ । यो अन्तरालमा सबैभन्दा धेरै लङग्रेन बास्मती चामलको मूल्यमा वृद्धि भएको छ । २०७५ मा १३० रुपैयाँ प्रतिकेजीले बिक्री भइरहेको यो चामलको मूल्य अहिले १६० रुपैयाँ प्रतिकेजी रहेको छ ।

तथ्यांककाअनुसार २०७५ सालको पुस महिनामा बजारमा ‘त्रिशुलीको पोखरेली चामल’को मूल्य प्रतिकेजी ८० रुपैयाँमा खरिद बिक्री हुन्थ्यो । तर, अहिले सो चामलको मूल्य प्रतिकेजी ९५ पुगेको छ ।

अन्य विभिन्न प्रकारका चामलमा पनि प्रतिकेजी २० रुपैयाँसम्म बढेको संघले जनाएको छ ।

विगतको दिनमा २५ केजी चामलको लागि एउटा परिवारले २ हजार खर्च गर्नुपर्ने थियो भने अहिले बढेर २३ सय ७५ रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

तथ्यांककाअनुसार २०७८ को तुलनामा अहिले (२०७९ पुस) पोखरेली चामल, स्टिम जिरा मसिनो चामल र लङग्रेन बास्मति चामलको मूल्य बढेको छ । एक वर्षकै अन्तरालमा यी चामलहरुमा प्रतिकेजी मूल्यमा क्रमशः १० रुपैयाँ, १५ रुपैयाँ र २० रुपैयाँ बढेको छ ।

विगतमा चामलको मूल्यमा खासै असर नदेखिए पनि २०७९ मा भारत सरकारले चामल आयातमा कडाइ गरेकाले प्रत्यक्ष असर देखिएको संघका महासचिव अमुलकाजी तुलाधार बताउँछन् ।

उनकाअनुसार भारत सरकारले बासमतिबाहेकका अन्य चामल आयातमा प्रतिबन्ध गरेको र निर्यातमा २० प्रतिशत भन्सार कर बढाउँदा नेपाली बजारमा प्रत्यक्ष असर देखिएको हो । जसमा गत वर्षको तुलनामा यो वर्ष प्रतिकेजी नै १० रुपैयाँसम्म वृद्धि भएको संघले जनाएको छ ।

पाँच वर्षमा चामलको मूल्य

दालको मूल्य दोब्बरले बढ्यो

चामलको मूल्यमा सामान्य वृद्धि देखिएपनि दालमा भने पाँच वर्षको अन्तरालमा दोब्बरले बढेको पाइन्छ । पाँच वर्षअघि प्रतिकेजी एकसय हाराहारीमा पाइरहेको दालको मूल्य अहिले प्रतिकेजी डेढसय माथि पुगेको छ ।

२०७५ को पुस महिनामा मासको दाल एक केजी खरिदका लागि ११० रुपैयाँ र मुसुरको दाल एककेजीको ९० रुपैयाँ पर्थ्यो । तर, अहिले सोही मास दालको मूल्य प्रतिकेजी १९० रुपैयाँ र मुसुरको मूल्य प्रतिकेजी १७० रुपैयाँ पुगेको छ । सोहीअनुसार मुङ खोस्टा, मुङ छाटा, रहर दाल तथा चना दालको मूल्य वृद्धि भएको छ ।

गुडागुडीको मूल्य पनि दोब्बरले बढ्यो

गेडागुडीको मूल्य पनि दोब्बरले बढेको छ । बजारमा पाइने चना, केराउ, राजमा, सिमिलगायत अन्य अधिकांश गेडागुडीको मूल्य बढेको संघको तथ्याङ्कले उल्लेख गर्छ ।

२०७५ सालमा राज्माको मूल्य प्रतिकेजी १६० रुपैयाँ थियो भने अहिले बढेर २२५ पुगेको छ । साथै, २०७५ सालमा कालो भटमासको मूल्य प्रतिकेजी १२० रुपैयाँमा पाउँथ्यो भने अहिले प्रतिकेजी नै ३ सय रुपैयाँ पुगेको छ ।

खाद्यान्न मात्रै नभएर बजारमा पाइने अधिकांश पिठो तथा मैदाको मूल्य बढेको छ । बजारमा पाइने मकैको पिठो, कोदोको पिठो, चामलको पिठो, मैदालगायत सुजीको मूल्य पनि बढेको देखाउँछ । बजारमा सबैभन्दा बढी खपत हुने मैदा र आँटाको मूल्य पनि पाँच वर्षको अन्तालमा ह्वात्तै बढेको छ ।


अरिष्मा मोक्तान