आर्थिक मन्दीको प्रभावः काटेको चेक नसाटिँदा कालो सूचीमा पर्नेको संख्या १९०% ले बढ्यो



काठमाडौं । पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण कालो सूचीमा पर्नेको संख्या ह्वात्तै बढेको छ । भुक्तानीका लागि काटिएका चेक बाउन्स हुँदा कालो सूचीमा पर्नेको संख्या ह्वात्तै बढेको हो ।

चेक बाउन्स र बैंकको ऋण तिर्न नसकेका कारण हजारौं कालो सूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्षको साढे ५ महिनाको अवधिमा कालो सूचीमा पर्नेको संख्या १४ हजार ३७१ पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कालो सूचीमा पर्नेको संख्या १८९.७८ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा कालो सूचीमा पर्नेको संख्या ४ हजार ९५९ रहेको कर्जा सुचना केन्दले जनाएको छ । यस्तै पुस सुरु भएयता १८ दिनको अवधिमा कालो सूचीमा पर्नेको संख्या ८७ पुगेको छ ।

कर्जा सूचना केन्द्रकाअनुसार साउन १ देखि पुस १८ गतेसम्म १४ हजार ३७१ व्यक्ति तथा कम्पनी कालो सूचीमा परेका हुन् ।

गत आर्थिक वर्षको सोही अवधिमा ४ हजार ९५९ व्यक्ति तथा कम्पनी कालो सूचीमा परेको केन्द्रको तथ्यांकमा उल्लेख छ । गत आवको सोही अवधिको तुलनामा चालू आवमा कालो सूचीमा पर्नेको संख्या ९ हजार ४१२ ले बढी हो ।

कुनै पनि कम्पनी वा व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्ने अवधि ९० दिनभन्दा बढी भएमा त्यस्तो ऋणी कालो सूचीमा पर्ने गर्दछ । साथै कुनै व्यक्तिले कसैलाई चेक दियो र चेकमा पर्याप्त रकम छैन भने उ पनि कर्जा सूचना केन्द्रको कालो सूचीमा पर्ने गर्दछ ।

बैंकले भाका नाघेको ऋणको सम्पूर्ण विवरण प्रत्येक आर्थिक वर्षको त्रैमास सकिएको मितिले १५ दिनसम्म पनि ऋण चुक्ता नभए कर्जा सूचना केन्द्रमा पठाउनु पर्ने हुन्छ ।

बैंकले नयाँ कर्जा प्रवाह गर्न, पुरानो कर्जा नवीकरण गर्न, पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नु अगावै ग्राहकको बारेमा कर्जा सूचना केन्द्रबाट अनिवार्यरुपमा कर्जा सूचना लिनुपर्ने व्यवस्था रहेको छ ।

कुनै पनि नियकाले कर्जा सूचना माग भएको खण्डमा कर्जा सूचना केन्द्रले बढीमा ३ कार्यदिनमा सूचना उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको छ । कालो सूचीमा परेकाले कर्जा पाउँदैनन् ।

कर्जा सूचना केन्द्रका एक अधिकारीका अनुसार पछिल्लो समय चेक बाउन्सका घट्ना निकै बढ्दै गएको छ ।

‘अहिले लोन डिफल्टका केस कम आउने गरेका छन्, ती अधिकारीले भने, ‘अहिले १०० वटा उजुरी आयो भने ९० वटाको हाराहारीमा चेक बाउन्सका रहेका छन् ।’

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल पनि पछिल्लो समय चेक बाउन्सका घट्ना निकै बढेको बताउँछन् । अहिले अर्थतन्त्र चलायमान नहुँदा, उद्योग व्यवसाय प्रभावकारीरुपमा अघिबढ्न नसक्दा यस्तो समस्या देखिएको पोखरेलको भनाइ छ ।

‘अहिले धेरै जसो क्यास फ्लोको ट्रयापमा परेका छन् । बिजनेश राम्रोसँग हुन सकेको छैन’ उनले भने ‘पूर्वाधारको क्षेत्रमा काम प्रभावकारीरुपमा हुन सकेको छैन, क्यास फ्लो कम भयो जसले गर्दा राम्रोसँग आर्थिक कारोबार गरिरहेका पनि अहिले कालो सूचीमा पर्ने गरेका छन् ।’
देशको अर्थतन्त्र चलायमान नभएसम्म यो समस्या समाधान हुन समय लाग्ने पोखरेल बताउँछन् ।

कतिपय व्यापारीले ल्याएको सामान बिक्री नहुँदा ओभर स्टक भएर पनि काटेको चेक साट्न समस्या परेको गुनासो बढ्दै गएको छ । अहिले पर्यटक क्षेत्रबाट काटिने चेक अन्यको तुलनामा कम बाउन्स हुने गरेको तर अन्य सबै क्षेत्रका चेक बाउन्स हुने क्रम बढेको बताइन्छ ।

कसरी हुन्छ चेक बाउन्स ?

राष्ट्र बैंकले २०७६ मा एकीकृत निर्देशिका जारी गर्दै चेक बाउन्स भए कालोसूचीमा पर्ने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा खातामा पर्याप्त रकम नभइ चेक जारी गर्ने र त्यो चेक ३ पटकसम्म नसाटिएपछि रकम पाउने व्यक्तिले सम्बन्धित बैंकमा लिखित उजुरी दिएपछि कालो सूचीमा राख्ने व्यवस्था गरेको छ । यसरी ३ पटकसम्म चेक नसाटिको प्रमाणित भने गर्नुपर्छ ।

बैंकले उजुरी परेपछि खातामा रकम जम्मा गर्न तत्काल ७ दिनको सूचना जारी गर्नेछ । यदि खातावालाले तोकिएको समयभित्र आवश्यक रकम जम्मा नगरेमा बैंकले कालोसूचीमा राख्ने गरेको छ । यस्तै खातावालाले चेक काट्ने र चेक नसाटी खाता बन्द गरेको अवस्थामा पनि कालोसूचीमा राख्ने व्यवस्था रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कर्जा सूचना केन्द्रलाई उपलब्ध गराएको विवरणका आधारमा केन्द्रले अन्य कुनै पनि बैंक वा वित्तीय संस्थाले माग गरेको आधारमा सूचना तयार गरी उपलब्ध गराउँछ ।

जसले गर्दा अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋणीले कर्जा लिएको छ भने एकै पटक केन्द्रले कालोसूचीमा राख्छ । तर, नियतवश कर्जा नतिर्ने ऋणीलाई भने जतिसुकै परिमाणको ऋण भए पनि कालोसूचीमा राख्न सकिने व्यवस्था छ ।

कर्जा सूचना केन्द्रमा २६ वटा वाणिज्य बैंक, ८ वटा राष्ट्रियस्तरका विकास बैंक, ९ वटा क्षेत्रीय बैंक, १९ वटा फाइनान्स कम्पनी, ६४ वटा माइक्रोफाइनान्स, १० वटा हायर पर्चेज कम्पनी, ५ वटा सहकारी, एक वटा पुर्वाधार इन्फ्रास्टक्चर बैंक र एक अन्य कम्पनी आबद्ध रहेका छन् ।


क्लिकमान्डु