रिलायन्स लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन बीमा योजनामा कति पाइन्छ ?



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस १७ गते स्वीकृत भएसँगै बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

इन्स्योरेन्सले मुनाफामा सरिक हुने(बोनस आर्जन गर्ने)सम्पूर्ण बीमालेखहरुमा लागू हुने गरी बोनसदर घोषणा गरेको हो

कम्पनीले आव २०७७/०७८ का बीमितलाई प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनसदर दिने भएको छ ।
बीमितले कम्पनीको सावधिक बीमा योजना अन्र्तगत बीमा अवधिअनुसार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

कम्पनीले यस बीमा योजनामा २५ वा सो भन्दा माथिकाका बीमा अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले सावधिक तथा आजीवन बीमा योजना अन्तर्गत बीमा अवधिअनुसार न्यूनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम प्रतिहजार ६० रुपैयाँ बोनसदर कायम गरेको छ । यस बीमा योजनामा इन्स्योरेन्सले २५ वा सो भन्दा माथिका बीमा अवधिका लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम प्रतिहजार ४१ रुपैयाँदेखि अधिकतम ७५ हजार रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

बीमितले कम्पनीको वार्षिक अग्रिम भुक्तानी–मुद्दती नियमित शुल्क बीमा योजनामा सबै बीमा अवधिमा प्रतिहजार ४२ रुपैयाँ बोनसदर पाउने भएका छन् ।

यस्तै, कम्पनीको वार्षिक अग्रिम भुक्तानी–मुद्दती एकल बीमाशुल्क बीमा योजनामा सबै बीमा अवधिका लागि ५४ रुपैयाँ, सामुहिक सावधिक बीमा योजनामा अन्तर्गत सबै बीमा अवधिमा प्रतिहजार १९ रुपैयाँ र सीमित भुक्तानी सावधिक बीमा योजनाा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम प्रतिहजार ६५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

मृत्यु दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमालेखहरुमा समेत माथि उल्लेख गरिएको बोनसदर लागू हुने कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार अर्को बीमाङ्कीय मूल्याङ्कनअनुसार बीमा प्राधिकरणबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म दाबीहरुमा समेत यहि बोनसदर लागू हुनेछ ।

बीमा कम्पनीहरुले आर्जन गरेको मुनाफाको आधारमा वितरण हुने बोनसलाई मुनाफामा सरिक हुने बोनसदर भनिन्छ ।

बीमितले कम्पनीले नाफा आर्जन गरेअनुसार बोनसदर प्राप्त गर्छन् । जीवन बीमा कम्पनीहरुले नाफाको आधारमा बोनसदर घोषणा गर्छन् ।


क्लिकमान्डु