जीवन बीमा व्यवसायको २६.२६% हिस्सा नेपाल लाइफले ओगट्यो, अन्य कुन कम्पनीले कति ?



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा व्यवसायको २६.२६ प्रतिशत हिस्सा ओगटेको छ ।

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ५९ अर्ब ५१ करोड ६२ लाख रुपैयाँको व्यवसाय गरेका छन्।

चालु आवको मंसिर महिनासम्ममा कम्पनीहरुले प्रथम बीमाशुल्कबाट ११ अर्ब २७ करोड ८ लाख रुपैयाँ र नवीकरण बीमाशुल्कबाट ४८ अर्ब २४ करोड ५३ लाख रुपैयाँ गरी उक्त रकम संकलन गरेका हुन् ।

मंसिर मसान्तसम्ममा कम्पनीहरुमा सक्रिय बीमालेखको संख्या १ करोड ३९ लाख ८६ हजार ५०५ वटा रहेको बीमा प्राधिकरणले जनाएको छ ।

मंसिर महिनासम्ममा नेपाल लाइफले १५ अर्ब ६२ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिसम्ममा कम्पनीमा सक्रिय बीमालेखको संख्या ९ लाख २८ हजार ४०६ वटा रहेको छ ।

गत आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सले १.१६ प्रतिशतले व्यवसाय बढाएको हो । गत आर्थिक वर्षको मंसिर महिनासम्ममा इन्स्योरेन्सले १५ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

गत आवमा इन्स्योरेन्सले कुल जीवन बीमा व्यवसायको २६.७३ प्रतिशत हिस्सा ओगटेको थियो ।

अन्य १८ वटा कम्पनीले ७३.७४ प्रतिशत बजार ओगटेका छन् ।

१८ मध्ये कुन कम्पनीको हिस्सा कति ?

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांअनुसार नेपाल लाइफपछि दोस्रो सर्वाधिक हिस्सा ओगट्ने कम्पनीको सूचीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआइसी) परेको ।

यस अवधिमा एलआइसीले जीवन बीमा व्यवसायको ११.८० प्रतिशत हिस्सा ओगटेको छ । इन्स्योरेन्सले गत आवको सोही अवधिको तुलनामा व्यवसाय ६.६८ प्रतिशतले बढाएर ७ अर्ब २ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ ।

गत आवको सोही अवधिमा कम्पनीले ६ अर्ब ५८ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । व्यवसाय बढेसँगै इन्स्योरेन्सको बजार हिस्सा गत आवको सोही अवधिको तुलनामा ०.४० प्रतिशतले बढेको हो ।

एलआइसी पछि नेशनल लाइफले जीवन बीमा व्यवसायको १०.९९ प्रतिशत हिस्सा ओगटेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सले व्यवसायको ९.७७ प्रतिशत हिस्सा ओगटेको थियो । इन्स्योरेन्सको व्यवसाय १५.७७ प्रतिशतले बढेसँगै बजार हिस्सा पनि बढेको हो ।

गत आवको सोही अवधिको तुलनामा १.५९ प्रतिशतले व्वयसाय घटेको राष्ट्रिय बीमा संस्थानले जीवन बीमा व्यवसायको ९.३४ प्रतिशत हिस्सा ओगटेको छ ।

यूनियन लाइफले जीवन बीमा व्यवसायको ५ं१० प्रतिशत बजार हिस्सा ओगटेको छ ।

नेपाल लाइफ, एलआइसी, राष्ट्रिय बीमा संस्थान र यूनियन लाइफ बाहेकका कम्पनीले भने व्यवसायको ५ प्रतिशतभन्दा कम मात्रै हिस्सा ओगटेका छन् ।

एशियन लाइफले जीवन बीमा व्यवसायको ४.७१ प्रतिशत, सिटिजनले ३.७० प्रतिशत, मेट लाइफले ३.५२ प्रतिशत, सूर्याले ३.४० प्रतिशत र प्राइमले ३.११ प्रतिशत हिस्सा ओगटेका छन् ।

यस्तै, आईएमई लाइफले २.४८ प्रतिशत, ज्योतिले २.४१ प्रतिशत, सन नेपालले २.७४ प्रतिशत, रिलायन्सले २.०५ प्रतिशत, रिलायबलले २.४१ प्रतिशत, गुराँसले १.८७ प्रतिशत, सानिमा लाइफले १.६८ प्रतिशत, प्रभुले १.३९ प्रतिशत र महालक्ष्मी लाइफले १.०४ प्रतिशत हिस्सा ओगटेका छन् ।


क्लिकमान्डु