प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन



पोखरा । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् ।

पोखरामा आज आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन् ।

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान राजधानी काठमाडौँबाट पोखरा आइपुगेका हुन् । उनका साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल लगायत सहभागी छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पोखरेलीले झण्डै पाँच दशकअघि सपना देखेका थिए । लामो प्रतीक्षापछि विमानस्थल निर्माण भएर सञ्चालनको अवस्थामा आउँदा पोखेरेली हर्षित छन् । यसबाट पोखराको समृद्धिको ढोका खुल्ने अपेक्षा यहाँका नागरिकको छ ।

पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । विमानस्थल सञ्चालनमा आउने भएपछि आफूहरु हर्षित र उत्साहित भएको उनको भनाइ छ ।

कोरोनापछि प्रभावित पर्यटन क्षेत्रलाई विमानस्थल सञ्चालनसँगै पर्यटक आगमन बढेर राहत मिल्ने विश्वास रहेको बताउँदै श्रेष्ठले भने, ‘विमानस्थल सञ्चालनमा आउने भएपछि हामी व्यवसायी, लगानीकर्ता सबै हर्षित भएका छौँ । पर्यटन क्षेत्रलाई ठूलो राहत मिल्ने विश्वास छ । अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखराको प्रवद्र्धन विश्वभर फैलाउने र धेरै पर्यटक भित्र्याउने योजना बनाउने छौँ ।’

पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीइले निर्माण गरेको हो । यसअघि गत वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेला विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो ।

चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकामा विसं २०७४ देखि निर्माण सुरु भएको हो ।


क्लिकमान्डु