विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माकाअनुसार प्रधानमन्त्री प्रचण्डले पुरानै नियम कायम हुने र पछिल्लो सूचनामा भनिएको व्यवस्था तत्काललाई रोक्न भन्दै निर्देशन दिएका छन् ।

‘पहिले भएकै नियमलाई यथावत राख्न र पछिल्लो पटक सूचना जारी गर्दै आज (पुस १५)बाट लागु हुने भनिएको नियमलाई तत्काल रोक्न निर्देशक गरिएको हो’ उनले भने ।

सरकारले आजबाट लागू हुने गरी विदेशबाट आउने कामदारले ल्याएको मोबाइलसँगै अन्य मोबाइल ल्याएमा भन्सार महसुल तिरेर मात्रै भित्र्याउन पाउने व्यवस्था गरेको थियो । उक्त व्यवस्था गरेसँगै चौतर्फी आलोचना भइरहेको छ । साथै, सामाजिक सञ्चालनमा रेमिट्यान्स चल्ने तर मोबाइल नचल्ने भन्दै ह्यासट्याग चलिरहेको छ । त्यसैले, प्रधानमन्त्रीले मोबाइल ल्याउन गरिउको कडाइ तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।

दूरसञ्चार प्राधिकरणका सह प्रवक्ता अच्युतानन्द मिश्रले प्राधिकरणले यसअघिकै प्रणालीबाट फोन ल्याउने र एमडीएमएसमा दर्ता गर्ने र दुईभन्दा धेरै फोन ल्याउँदा जफत हुने भनिएको कुरा हाललाई रोकिएको बताए ।

उनले भने, ‘पहिलेकै जस्तो गरि दर्ता हुन्छ । फोन जफत गर्ने भन्ने कुरा हाम्रो क्षेत्राधिकारको भन्दा पनि भन्सारको कुरा हो । त्यसलाई अहिले रोकिएकोमा सूचना जारी गरिएको छ ।’

प्राधिरणले गत पुस ९ गते सूचना जारी गर्दै पुस १५ बाट आईएमईआई अनिवाई रुपमा दर्ता गर्नुपर्ने व्यवस्था गर्ने जानकारी दिएको थियो । यस सूचनामा प्राधिकरणले विदेशबाट आउनेले नीजि प्रयोजनका लागि ल्याउने आफ्नो फोनबाहेक दोस्रो फोनमा १८ प्रतिशत भन्सार लाग्ने र तेस्रो फोन पनि ल्याएको भएमा जफत नै गरिने भनेको थियो ।

प्राधिकरणको सूचनाकाअनुसार नीजि प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरु दर्ता प्रक्रियालाई सरलीकरण गर्न निर्देशन भएकाले अर्को सूचना जारी नहुँदासम्म यसअघिको सूचनामा भनिएको व्यवस्था लागु हुने छैन ।


क्लिकमान्डु