पुसमा तरलता व्यवस्थापनका लागि रिपोमार्फत् ५० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले रिपोमार्फत ५० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।

केन्द्रीय बैंकले रिपोमार्फत ४५ दिन अवधिका लागि ५० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो । यसको बोलकबोल बिहीबार हुनेछ ।

रिपो २०७९ माघ २९ गते परिपक्व हुनेछ । यसमा वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंक र वित्त कम्पनी सहभागी हुन सक्नेछन् ।

राष्ट्र बैंक स्रोतकाअनुसार पुस मसान्तमा तरलता व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थालाई सहज होस् भनेर रिपो जारी गरिएको हो ।

‘गत वर्ष हामीले पुनकर्जामार्फत तरलता सहज बनाउने प्रयास गरेका थियौ । यो निरन्तर दिने विषय होइन’ राष्ट्र बैंक स्रोतले भन्यो ‘पुस मसान्तसम्म पुनकर्जा ५० अर्बभन्दा तल हुने र बैंक तथा वित्तीय संस्थालाई तरलता व्यवस्थापन गर्न कठिन हुने भएकाले ४५ दिन अवधिको रिपो जारी गरिएको हो ।’

माघ मसान्तमा तरलताको अवस्था हेरेर थप रिपो जारी गर्ने वा नगर्ने निर्णय हुने ति अधिकारी बताउँछन् । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘रिपो’ हो । चालु आर्थिक वर्षमा राष्ट्र बैंकले ४५ दिन अवधिको रिपो जारी गरेको यो पहिलो पटक हो ।

अहिलेसम्म राष्ट्र बैंकले रिपोमार्फत १ खर्ब ७७ अर्ब ७० करोड रुपैयाँ बजारमा पठाएको छ । राष्ट्र बैंकले चालु आवमा ८ पटक रिपो जारी गरेको छ । जसमा ७ दिन र १४ दिन अवधिका लागि मात्रै बैंकलाई यो सुविधा दिएको थियो ।


क्लिकमान्डु