अर्थमन्त्री विष्णु पौडेलले रोके व्यवसायीको आन्दोलन



काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले सडक आन्दोलन गरिरहेका व्यवसायीको आन्दोलन रोकेका छन् ।

बुधबार दिउँसो आन्दोलनरत देशभरका व्यवसायीसँग अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले आन्दोलन रोक्न आग्रह गरेपछि व्यवसायीहरु सहमत भएका हुन् ।

अर्थमन्त्री पौडेलले व्यवसायीले उठाएका मागको सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन रोकिएको हो । व्यवसायीहरुले बैंकको ब्याजदर घटाउनु पर्ने, चालु पुँजी कर्जा २ वर्षसम्म स्थगन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनमा होमिएका थिए ।

‘सरकारले चाँडोभन्दा चाँडो ब्यवसायीका माग सम्बोधन गर्छ, तपाईंहरु आन्दोलनबाट पछि हट्नुहोस्’ अर्थमन्त्री पौडेलको भनाइ उदृत गर्दै वार्तामा सहभागी एक व्यवसायीले भने, ‘अर्थमन्त्रीज्यूले नै आश्वासन दिएपछि हामी आन्दोलन रोक्न सहमत भएका हौं।’

अर्थमन्त्री पौडेलले व्यवसायीहरुको समेत उपस्थितिमा विज्ञहरुसँग छलफल गरेर माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।


क्लिकमान्डु