राष्ट्र बैंकको खुद सञ्चालन आम्दानी ४५.११ प्रतिशतले बढ्यो



काठमाडौं । गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकको खुद सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा ४५.११ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०७८/७९ मा राष्ट्र बैंकको जम्मा सञ्चालन आम्दानी ४५.११ प्रतिशतले बढेर ३५ अर्ब ७६ करोड ९९ लाख २४ हजार रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को खुद सञ्चालन आम्दानीमा खुद ब्याज आम्दानीको अंश ९३.७२ प्रतिशत, विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी ५.६८ प्रतिशत र अन्य सञ्चालन आम्दानीको अंश ०.६० प्रतिशत रहेको छ ।

खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ५३.६४ प्रतिशतले वृद्धि भई ३३ अर्ब ५२ करोड २४ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

विदेशी विनिमय खरिद बिक्रीबाट हुने आम्दानी ६.६९ प्रतिशतले वृद्धि भइ २ अर्ब ३ करोड १२ लाख ३९ हजार रुपैयाँ रहेको छ भने अन्य आम्दानीमा ७६.६९ प्रतिशतले ह्रास आई २१ करोड ६२ लाख ८ हजार कायम भएको छ ।

गत आवमा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ/हानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ४७.४४ प्रतिशतले वृद्धि भई २८ अर्ब ४२ करोड ७ लाख ६८ हजार कायम भएको छ ।

यस्तो खुद आय आर्थिक वर्ष २०७७/७८ मा १९ अर्ब २७ करोड ६१ लाख ६२ हजार रहेको थियो ।

एक वर्षको अवधिमा विदेशी विनिमय पुनर्मूल्याङ्कन लाभ ३४ अर्ब ७८ करोड ९१ लाख ४८ हजार रुपैयाँ र सुन तथा चाँदी पुनर्मूल्याङ्कन हानी १ अर्ब २२ करोड ९२ लाख ४ हजार रुपैयाँ समायोजन पश्चात् खुद आय ६१ अर्ब ९८ करोड ०७ लाख १३ हजार रुपैयाँ रहेको छ ।

गत वर्ष खुद आय ३० अर्ब ४७ करोड ५३ लाख १ हजार रहेको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु