आईएमईआई नम्बर रेकर्डमा नभएका मोबाइल फोन नचल्ने, विदेशबाट फर्कदा भन्सारमै दर्ता गर्नुपर्ने



काठमाडौं । नेपाल दूरसञ्चार प्रधिकरणले पुस १५ पछि आईएमईआई नम्बर मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणालीमा दर्ता नभएका मोबाइल नचल्ने व्यवस्था गरेको छ ।

विदेशबाट फर्किँदा यात्रुले प्रज्ञापनपत्रमा आईएमईआई नम्बर उल्लेख गरि एमडीएमएस प्रणालीमा दर्ता गर्नु पर्नेछ ।

भन्सारमा घोषणा नभएका मोबाइल पुस १५ गते देखि एमडीएमएस प्रणालीमा दर्ता नगरीने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने प्राधिकरणले जनाएको छ ।

त्यस्ता फोनहरु व्यक्तिगत प्रयोजनका लागि ल्याइएका भए प्रज्ञापनपत्र सहित राहदानि/नागरीकता/राष्ट्रिय परिचयपत्रको आधारमा मात्र एमडीएमएसमा दर्ता गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

पुस १५ देखि एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइल फोन नेपाल चल्ने छैनन् । गत भदौसम्म नेपालभित्र प्रयोग भएका सबै मोबाइल फोनहरु उक्त प्रणालीमा स्वत: दर्ता भइसकेका छन् । भदौ भन्दा अगाडि नेपालमा प्रयोग भइसकेका फोनको हकमा भने प्रज्ञापनपत्र भर्दै एमडीएमएस प्रणालीमा दर्ता गर्नु पर्ने छैन । तर, भदौपछि नेपालमा प्रयोग नभएका सबै मोबाइल फोनहरु नेपाली यात्रुलेसमेत विदेशबाट फर्कदा यो प्रणालीमा दर्ता गरेरमात्र चलाउन पाउने छन् ।

‘विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका (एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भाद्रभन्दा अगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरुको (१५ वटा डिजिटल एमइआई नम्बर सहितको) भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिई प्रणालीमा अद्यावधिक गर्नुपर्नेछ,’ जारी सूचनामा उल्लेख छ ।

प्राधिकरणले मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गर्न एमडिएमएस प्रणाली कार्यान्वयनमा ल्याएको जनाएको छ ।


क्लिकमान्डु