राष्ट्र बैंक सञ्चालक समिति सदस्यको भत्ता ८० प्रतिशतले बढ्यो, कसले कति बुझे ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका सञ्चालकले भत्ता बापत ३७ लाख ८६ हजार ५२८ रुपैयाँ लिएका छन् । सञ्चालकहरुले गत आवमा उक्त रकम भत्ता तथा अन्य भत्ता र सुुविधा बापत लिएका हुन् ।

सञ्चालक समितिका सदस्यले भत्ताका साथै इन्धन, सञ्चार, सवारी चालक, पत्रपत्रिका, इन्टरनेट तथा औषधि उपचार खर्च पाउने गरेका छन् ।

राष्ट्र बैंकले बोर्ड सदस्यलाई दिने भत्ता ९ हजार रुपैयाँ दिने गरेको छ । २०७८ मंसिर १ गतेदेखि लागू हुने गरी ५ हजारबाट बढाएर ९ हजार रुपैयाँ पुर्याईएको छ । राष्ट्र बैंक सञ्चालक समिति सदस्यले पाउने तलब भत्ता एकै पटक ८० प्रतिशतले बढेको छ ।

गत आवमा भत्ता बापत सञ्चालक मधु मरासिनीले ७ लाख ४३ हजार ४२५ रुपैयाँ लिएका छन् । जसमा भत्ता बापत २ लाख ५८ हजार र अन्य भत्ता तथा सुविधा बापत ४ लाख ८५ हजार ४२५ रुपैयाँ बुझेका छन् ।

यस्तै शिशिर कुमार ढुंगानाले ४१ हजार २३८ रुपैयाँ लिएका छन् । जसमा बैठक भत्ता बापत १० हजार रुपैयाँ लिएका छन् भने अन्य भत्ता तथा सुविधा बापत ३१ हजार २३८ रुपैयाँ लिएका छन् ।

यता सञ्चालक समिति सदस्य चिन्तामणी शिवाकोटीले १ लाख २५ हजार ५६४ रुपैयाँ लिएका छन् । जसमा भत्ता बापत ९० हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधा बापत ३५ हजार ५६४ रुपैयाँ लिएका छन् ।

राष्ट्र बैंकबाट भत्ता बापत सञ्चालक डा. शंकर प्रसाद आचार्यले १ लाख १३ हजार ४१२ रुपैयाँ लिएका छन् । जसमा भत्ता बापत ९० हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधा बापत २३ हजार ४१२ रुपैयाँ लिएका छन् । यता डा. श्री राम पौडेलले १३ लाख ३८ हजार ३५४ रुपैयाँ लिएका छन् । जसमा भत्ता बापत २ लाख ६ हजार र अन्य भत्ता तथा सुविधा बापत ११ लाख ३२ हजार ३५४ रुपैयाँ लिएका छन् ।

यस्तै सञ्चालक रामजी रेग्मीले ५ लाख ७७ हजार १९ रुपैयाँ लिएका छन् । भत्ता बापत मात्रै २ लाख १५ हजार र अन्य भत्ता तथा सुविधा बापत ३ लाख ६२ हजार १९ रुपैयाँ लिएका छन् भने डा. सुबोध कुमार कर्णले ८ लाख ४७ हजार ५१६ रुपैयाँ लिएका छन् । उनले भत्ता बापत १ लाख ५२ हजार र अन्य भत्ता तथा सुविधा बापत ६ लाख ९५ हजार ५१६ रुपैयाँ लिएका छन् ।


क्लिकमान्डु