निर्यात क्षेत्रमा तेलको हिस्सा २७ प्रतिशत, कार्पेट र अलैंचीको निर्यात बढ्यो



काठमाडौं । नेपालबाट सबैभन्दा बढी निर्यात हुँदै आएको वस्तु हो तेल । नेपालबाट भारतमा उच्च तेल निर्यात हुुँदा गत वर्ष नेपालको निर्यात मूल्य २ खर्ब नाघेको थियो । गत वर्ष निर्यातित वस्तुमध्ये तेलको हिस्सा ५० प्रतिशतभन्दा माथि थियो ।

तर, यो वर्ष तेलको निर्यात हिस्सा खुम्चिएको छ । भारत सरकारले खाने तेल भटमास र सन्फ्लावर तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल शून्य बनाएपछि नेपालबाट तेल कम मात्रामा निर्यात भएको पाइन्छ ।

त्यस्तै, चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँको वस्तु निर्यात गर्दा तेल (पाम, सोयाबिन, सन्फ्लावर) को हिस्सा २७ प्रतिशत छ । गत वर्षको सोही अवधिमा १ खर्ब २ अर्ब बढीको वस्तु निर्यात हुँदा ६० अर्ब २७ करोड ५ लाख रुपैयाँको तेल निर्यात गरेको थियो । जसमा तेलको हिस्सा ५८.५६ प्रतिशत थियो ।

गत वर्षको पाँच महिनामा नेपालबाट २७ करोड ८२ लाख लिटर तेल निर्यात गरेकोमा यो वर्षको सोही अवधिमा नेपालबाट ७ करोड ८४ लाख लिटर तेल निर्यात गरेको छ ।

नेपालबाट पाँच महिनाको अवधिमा १० अर्ब ८७ करोड ३३ लाख रुपैयाँको पाम तेल, ६ अर्ब ९८ करोड ८१ लाख रुपैयाँको सोयाबिन तेल र २२ करोड ३१ लाख रुपैयाँको सन्फ्लावर तेल निर्यात गरेको छ ।

नेपालबाट निर्यात हुने वस्तु तेलबाहेक अन्य आन्तरिक उत्पादनको अवस्था भने सुधार हुन सकेको छैन । तर, गत वर्षको तुलनामा यो वर्ष अन्य आन्तरिक उत्पादन वस्तुको निर्यात भने बढेको देखिन्छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालले ४ अर्ब ७८ करोड ३१ लाख रुपैयाँको करिब २ लाख स्क्वायरमिटर कार्पेट निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालबाट ३ अर्ब ७३ करोड ५२ लाख रुपैयाँको १ लाख ८२ हजार स्क्वायरमिटर कार्पेट निर्यात गरेको थियो ।

त्यस्तै, अलैंचीको निर्यात पनि बढेको छ । गत वर्ष २ अर्ब १ करोड १५ लाख रुपैयाँको निर्यात गरेकोमा यो वर्ष २ अर्ब ७२ करोड ८२ लाख रुपैयाँको निर्यात गरेको छ । फेल्ट २ अर्ब २३ करोड ७२ लाख ९९ हजार रुपैयाँको निर्यात गरेको छ ।

त्यसैगरी, पाँच महिनाको अवधिमा २ अर्ब १४ करोड ६१ लाख रुपैयाँको चिया, १ अर्ब ६० करोड ८७ लाख रुपैयाँको धागो, १ अर्ब ५९ करोड ४६ लाख रुपैयाँको जुस, १ अर्ब ५४ करोड १७ लाख रुपैयाँको टेक्सटायल तथा फ्याब्रिक, १ अर्ब ५२ करोड ११ लाख ७५ हजार रुपैयाँको सिंगल यार्न। १ अर्ब ४६ करोड ८९ लाख रुपैयाँको सल, स्कार्फ, मफलर र १ अर्ब १० करोड १० लाख रुपैयाँको कुकुर तथा बिरालोको दाना निर्यात गरेको छ ।

कुन भन्सार कार्यालयबाट कति निर्यात ?

नेपालले पाँच महिनाको अवधिमा सबैभन्दा बढी विराटनगर भन्सार कार्यालयबाट वस्तु निर्यात गरेको छ । विराटनगरबाट नेपालले १९ अर्ब ४३ लाख ५४ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

त्यसैगरी, १७ अर्ब ११ करोड ९१ लाख रुपैयाँको वीरगञ्जबाट, १५ अर्ब २२ करोड ४६ लाख रुपैयाँको अन्तर्राष्ट्रिय विमानस्थलबाट, ८ अर्ब ५४ करोड २ लाख रुपैयाँको मेचीबाट र ३ अर्ब १२ करोड ८९ लाख रुपैयाँको वस्तु भैरहवा भन्सार कार्यालयबाट निर्यात गरेको छ ।

त्यस्तै, १ अर्ब ५० करोड ८९ लाख ६७ हजार रुपैयाँको ड्राइपोर्टबाट, ७४ करोड ७६ लाख रुपैयाँको नेपालगञ्जबाट, ६४ करोड २४ लाख रुपैयाँको जलेश्वरबाट, ४४ करोड ९२ लाख रुपैयाँको कृष्णनगरबाट, ४० करोड ६८ लाख रुपैयाँको कैलालीबाट, ५ करोड ८२ लाख रुपैयाँको सुठौलीबाट, २ करोड ६४ लाख रुपैयाँको सर्लाहीबाट, ८१ लाख रुपैयाँको कञ्चनपुरबाट, ३८ लाख ९० हजार रुपैयाँको गौतमबुद्ध विमानस्थलबाट, ३३ लाख रुपैयाँको चोभारबाट र ९ लाख ६१ हजार रुपैयाँको गौर भन्सारबाट वस्तु निर्यात गरेको छ ।

बाँकी १० वटा भन्सार कार्यालयबाट कुनै पनि वस्तु निर्यात हुन सकेको छैन । उक्त भन्सार कार्यालयबाट वस्तु भने आयात भइरहेको छ ।


क्लिकमान्डु