आयात प्रतिबन्धले ४६ प्रतिशतले घट्यो मोबाइल आयात, पाँच महिनामा साढे १२ अर्बको पैठारी



काठमाडौं । उच्च आयातका कारण बजारमा तरलता अभाव भएको भन्दै सरकारले आयात गरेको कडाइले मोबाइलफोनको पैठरी ४६ प्रतिशतले घटेको छ ।

सरकारले गत वैशाख १३ गते ६०० अमेरिकी डलरभन्दा महंगो मोबाइलफोन आयातमा प्रतिबन्ध लगाएको थियो । साथै, गत असार ३१ गते राजपत्रमा प्रकाशित सूचनामा ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइलफोन आयातमा प्रतिबन्ध गरेको थियो ।

उक्त प्रतिबन्धले गर्दा पाँच महिनाको अवधिमा मोबाइलफोनको आयात ४६ प्रतिशतले घटेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

सरकारले मोबाइलफोनमा मात्रै नभएर अन्य विलासिताको १० वस्तुको आयातमा पनि प्रतिबन्ध लगाएको थियो । जसले गर्दा समग्र आयातमा कमी आएको छ । तर, सरकारले उक्त प्रतिबन्ध पुसबाट खुल्ला गरिसकेको छ । आयातमा खुल्ला भएसँगै आगामी दिनमा आयात बढ्ने व्यवसायीहरुको भनाइ छ ।

सरकारले आयातमा कडाइ गरेको बाबजुद चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा १२ अर्ब २९ करोड ४८ लाख रुपैयाँको २० लाख ३२ हजार ५२७ सेट मोबाइलफोन आयात गरेको छ ।

उक्त आयातित मोबाइलफोनबाट सरकारले २ अर्ब २७ करोड ५२ लाख ७२ हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

त्यस्तै, नेपालले गत वर्षको सोही अवधिमा २२ अर्ब ९९ करोड २५ लाख ५१ हजार रुपैयाँको ३० लाख ७१ हजार १५० सेट मोबाइलफोन आयात गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष ४६.०९ प्रतिशतले आयातमा कमी आएको छ ।

गत वर्ष जुनसुकै प्रकारका मोबाइलफोन आयात गर्न कुनै समस्या थिएन । जसले गर्दा उच्च मोबाइलफोन आयात भएको तथ्याङ्कले उल्लेख गर्छ ।

नेपालले पाँच महिनाको अवधिमा सबैभन्दा बढी चीनबाट मोबाइलफोन आयात गरेको छ । विभागअनुसार पाँच महिनामा चीनबाट मात्रै ८ अर्ब ५८ करोड ६२ लाख ९६ हजार रुपैयाँको १६ लाख ६१ हजार ३६९ सेट मोबाइलफोन आयात गरेको छ । आयाति मोबाइलफोनबाट सरकारले १ अर्ब ५७ करोड २४ लाख ७४ हजार रुपैयाँ राजस्व महसुल संकलन गरेको छ ।

चीनपछि नेपालले भारतबाट ३ अर्ब ३९ करोड ३३ लाख ८० हजार रुपैयाँको ३ लाख ६३ हजार ९३ सेट मोबाइलफोन भारतबाट आयात गरेको छ । जसमा सरकारले ६२ करोड ६० लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

त्यसैगरी, पाँच महिनाको अवधिमा अष्ट्रेलियाबाट ४ करोड ७१ लाख ५२ हजार रुपैयाँको ४५५ सेट, हङकङबाट १ करोड ४४ लाख ४१ हजार रुपैयाँको १४० सेट मोबाइल, जापानबाट ५ करोड ४ लाख रुपैयाँको ७८८ सेट, २ करोड ५२ लाखको ४१८ सेट, १ करोड ८५ लाख रुपैयाँको २०१ सेट, ९ करोड ८७ लाख रुपैयाँको १ हजार ३० सेट, १ करोड १७ लाख रुपैयाँको १३१ सेट, ८ करोड १२ लाख रुपैयाँको ८०० सेट र ३ करोड ५३ लाख ८२ हजार रुपैयाँको ३ हजार ७०० सेट मोबाइलफोन आयात गरेको छ।

त्यसैगरी, क्यानाडाबाट ३४ लाख रुपैयाँको ३२ सेट, डेनमार्कबाट ११ लाख रुपैयाँको ९ सेट, ५० लाख रुपैयाँको ६० सेट, २२ लाख रुपैयाँको ३७ सेट, ३८ लाख रुपैयाँको ६५ सेट, पोर्चुगलबाट १० लाख रुपैयाँको १२ सेट, साउदी अरेबियाबाट २८ लाख ५६ हजार रुपैयाँको ४० सेट र सिंगापुरबाट २३ लाख रुपैयाँको २३ सेट मोबाइलफोन आयात गरेको छ ।


क्लिकमान्डु