आजदेखि १ अर्ब ६० करोडको एनआईबिएल ग्रोथ फण्ड योजनाको इकाई बिक्री खुला



काठमाडौं र एनआईबिएल एस क्यापिटलले आज पुस ७ गतेदेखि नयाँ सामुहिक लगानी कोष योजनाको इकाईको बिक्री खुला गरेको छ। क्यापिटलले ‘एनआईबिएल ग्रोथ फण्ड’ नामक सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गरेको हो ।

यस योजनाको आकार १ अर्ब ६० करोड र समयावधि १० वर्षको रहेको छ। यो अहिले सम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशन गर्ने म्युचुअल फण्ड योजना हो।

क्यापिटलले प्रतिइकाई अंकित मूल्य १० रुपैयाँका दरले (१६ करोड) इकाईमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड तथा १९ प्रतिशत अर्थात् ३ करोड ४ लाख इकाई कोष प्रवर्द्धक इन्भेष्टमेण्ट बैंकको लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात् ३ करोड २० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम १२ करोड ८ करोड ८० लाख इकाई सर्बसाधारणलाई बिक्री खुल्ला गरेको हो।

सर्बसाधारणले आवेदन दिँदा न्युनतम १०० इकाई र अधिकतम १ करोड ६० लाख इकाईको लागि आवेदन दिन सक्ने छन् । आवेदन दिंदा छिटोमा पुस १२ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस २१ गतेसम्म आवेदन दिन सकिने छ । एनआईबिएल ग्रोथ फण्ड’ का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयावधि सम्म दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने क्यापिटलले जनाएको छ ।

‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत यस अघि नै तीन वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना समेत संचालनमा रहेका छन् । ‘एनआईबिएल समृद्धि फण्ड -१’ आफ्नो ७ वर्षे समयावधि पूरा भई परिपक्क भईसकेको र उक्त योजनाले वार्षिक १८ प्रतिशत औसत प्रतिफल समेत वितरण गरिसकेको थियो । त्यस्तै अन्य दुई बन्दमुखी योजना, एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड-२ समेत संचालनमा रहेका छन् ।

साथै नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागीता फण्ड’ पनि यसै म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको छ र यस योजनाले समेत हाल सम्म कुल ६५.४५ प्रतिशत लाभांश वितरण गरी वार्षिक २२ प्रतिशत औसत प्रतिफलसमेत कायम राख्न सफल रहेको छ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतका योजनाको इकाईधनीहरुले प्रतिफल वार्षिक रुपमा प्राप्त गर्र्दै आईरहेको क्यापिटलले जनाएको छ।


क्लिकमान्डु