विश्वकप २०२२: फिफाको आम्दानी करिब १० खर्ब



एजेन्सी । आइतबार अर्जेन्टिना र फ्रान्सबीचको रोमाञ्चक खेलसँगै अन्त्य भएको यसपटकको विश्वकपबाट फिफाले करिब १० खर्ब रुपैयाँभन्दा धेरैको आम्दानी गरेको छ ।

कतारमा भएको विश्वकपपछि सोमबार सार्वजनिक रिपोर्टकाअनुसार फिफाले विश्वकपको प्रसारण अनुमति र टिकटको बिक्रीबाट करिब १० खर्ब रुपैयाँ आम्दानी गरेको हो ।

रिपोर्टकाअनुसार फिफाले प्रसारण अनुमति र टिकट बिक्री वापत ९ खर्ब ९१ अर्ब ५७ करोड २० लाख रुपैयाँ (७.५ बिलियन अमेरिकी डलर)को आम्दानी गरेको छ ।

सिएनएन समाचार संस्थाको रिपोर्टकाअनुसार फिफाले कतार विश्वकपबाट ६ खर्ब २१ अर्ब ३८ करोड रुपैयाँ (४.७ बिलियन अमेरिकी डलर)को आम्दानी हुने अनुमान गरेको थियो । तर, अनुमान गरिएकोभन्दा फिफाले निकै धेरै आम्दानी गरेको छ ।

१६ डिसेम्बरमा फिफाले २०२६ मा हुने आगामी विश्वकपको बजेट पनि प्रस्तुत गरेको छ । यो विश्वकपमा फिफाले १४ खर्ब ५४ अर्ब रुपैयाँ (११ बिलियन अमेरिकी डलर)को आम्दानी हुने अनुमान रहेको पनि सार्वजनिक गरेको छ । २०२६ को विश्वकप उत्तर अमेरिकी देशहरु संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ ।


क्लिकमान्डु