इन्टरनेट प्रयोगकर्ताको संख्या साढे २३ लाख नाघ्यो, वर्ल्डलिंकबाहेकले पुर्याएनन् ३ लाख



काठमाडौं । देशभर इन्टरनेट प्रयोगकर्ताको संख्या साढे २३ लाख नाघेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरको तथ्याङ्कअनुसार भदौ मसान्तसम्मा देभभर २३ लाख ६० हजार ९६२ प्रयोगकर्ता पुगेका छन् ।

गत साउनमा देभभर २२ लाख ९९ हजार ५४ ग्राहक थिए । भदौमा देशभर ६१ हजार ग्राहक थपिँदा साढे २३ लाख बढी ग्राहक पुगेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणअनुसार २२ लाख ५३ हजार ११५ जना ग्राहक फाइबर प्रयोगकर्ता र ९२ हजार १६२ केबलको प्रयोगकर्ता छन् । साथै, १५ हजार ६८३ जना ग्राहक भने वायरलेस प्रयोगकर्ता छन् ।

अहिले देशभर ५८ वटा इन्टरनेट सेवा प्रदायक कम्पनी छन् । त्यसमध्ये नेपालमा सबैभन्दा बढी वल्र्डलिंक कम्यूनिकेशनको छ । वल्र्डलिंकको मात्रै देशभर ६ लाख ८१ हजार ९४४ इन्टरनेट प्रयोगकर्ता छन् । वल्र्डलिंकबाहेक अन्य इन्टरनेट सेवा प्रदायक संस्थाले भने हालसम्म ३ लाख ग्राहक बनाउन सकेका छैनन् ।

प्राधिकरणको तथ्याङ्क हेर्दा वल्र्डलिंकपछि नेपाल दूरसञ्चार कम्पनीको बढी ग्राहक छन् । भदौ मसान्तसम्ममा कम्पनीको ग्राहक देशभर २ लाख ९१ हजार २८४ पुगेका छन् ।

त्यसैगरी भायोनेट कम्यूनिकेशनको २ लाख ४० हजार ७२९, वेभ सर्फर नेपाल कम्यूनिकेशन सिस्टम प्रालिको १ लाख ७३५, सुविसु केवलनेटको २ लाख ४१ हजार ७३४, डिस मिडिया नेटवर्कको १ लाख ५५ हजार २५७, क्लासिक टेक प्रालिको २ लाख ४२ हजार ६१८ र टेक माइन्ड् नेटवर्क प्रालिको देशभर १ लाख ७ हजार ३३७ जना प्रयोगकर्ता छन् ।

त्यस्तै, ब्रोडलिंक नेटवर्क एण्ड कम्यूनिकेशनको ५४ हजार ७२१, पोखरा इन्टरनेटको १० हजार १०८, एरोनेटको १९ हजार २५९, फाइबरवल्र्ड कम्यूनिकेशनको २१ हजार ३५४, सिम्पल मिडिया नेटवर्क केबलको २९ हजार ५५, फस्र्ट लिंक कम्यूनिकेशनको १६ हजार ३५५, सीजी कम्यूनिकेशनको ३६ हजार २३, कनेक्ट नेपाल नेटवर्कको १८ हजार ५७० म्याक्स नेट सोलुसनको १२ हजार ५ सय प्रयोगकर्ता छन् ।


क्लिकमान्डु