उद्योगी राठी बन्धक घटनाप्रति ३ उद्योगी संस्थाको आपत्ति, शान्तिसुरक्षाको माग



विराटनगर । विराटनगरका तीनवटा उद्योगी व्यवसायी संस्थाका प्रतिनिधिहरूले उद्योगी अरुणकुमार राठीमाथि गरिएको दुर्व्यवहार घटनाको भत्सर्ना गरेका छन् । उनीहरूले ‘आपराधिक, हिंस्रक, गैरकानूनी एवं अराजक क्रियाकलापकको घटनाप्रति स्तब्ध भएका छौँ,’ भनेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र नेपाल उद्योग परिसंघका प्रदेश १ का अध्यक्ष भीम घिमिरेले संयुक्त विज्ञप्ति जारी गर्दै सो घटनाले स्तब्ध बनाएको उल्लेख गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

मुलुकको आर्थिक मेरुदण्ड औद्योगिक, व्यावसायिक गतिविधिमा आवद्ध सुपरिचित करदाता, रोजगारदाता एवं जनप्रतिनिधित्वका लागिसमेत अग्रसर राठीमाथि दिनदहाडै गरिएको त्यस प्रकारको हिंस्रक एवं अराजक दुव्र्यवहार निन्दनीय रहेको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विगत केही वर्षदेखिका स्थानीय प्रशासनका अथक प्रयासबाट शान्ति सुरक्षाको अनुभूति गरिरहेका यहाँका उद्योगी, व्यवसायी तथा विराटनगरवासीलाई सो आपराधिक एवं निन्दनीय घटनाले त्रसित र सशंकित बनाएको छ भने विराटनगरमा कायम रहिआएको शान्तिपूर्ण वातावरणमा समेत खलल पुर्‍याएको छ ।

उद्योगपति राठीसहित उनका परिवारको जन, धन र प्रतिष्ठामाथि त्यसरी प्रहार गर्ने गिरोहसहित त्यसप्रकारका आपराधिक एवं असामाजिक गतिविधि गर्ने/गराउने जो कोहीलाई पनि कानूनी दायरामा ल्याई कडा कारवाही गर्न र ऐतिहासिक औद्योगिक नगरीको शान्ति सुरक्षालाई कायम राख्न सम्बन्धित सबै निकायमा माग गरिएको छ ।

पैसा माग गर्दै नेपाल टाइम्स मिडिया प्रालि विराटनगरका सञ्चालन अब्दुल खताब (शसेन्शाह सिद्दिकी) लगायतले बन्धक बनाएर रकम असुलेको भन्दै राठीले जिल्ला प्रहरी कार्यालय मोरङमा केही दिनअघि उजुरी दिएका थिए । सो मिडियामा लगानीकर्तासमेत रहेका राठीलाई कम्पनीमा रकम अभाव भएको भनेर सिद्दिकीको समूहले कार्यालयमै बन्धक बनाएर रकम असुली गरेको आरोप राठी पक्षले लगाएको छ ।

के हो घटना ?
उद्योगी राठीले आफूलाई यही मंसिर १४ गते कार्यालयमै बन्धक बनाएर सो समूहले फिरौतिवापत १५ लाख रूपैयाँ असुली गरेको प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ । सो जाहेरीलगतै प्रहरीले शहेन्शा सिद्दिकीलाई बयान लिएर सोही दिन छोडेको थियो ।

विराटनगर–६ केसलियास्थिति सो मिडियाको कार्यालयको एक कोठामा चार घण्टा बन्धक बनाएर एक करोड रूपैयाँ मागिएको र सो क्रममा ३० लाख रूपैयाँ तत्काल दिने सर्तमा छाडिएको जाहेरीमा भनिएको छ ।

बन्धककै अवस्थामा राठीले तत्काल १५ लाख रूपैयाँको चेक सिद्दिकी समूहलाई दिएको र बाँकी छुटेपछि दिने सर्तनामा गरिएको जाहेरीमा लेखिएको छ । यसअघि राठीले तीनपटक गरेर सिद्दिकी समूहलाई ११ लाख रूपैयाँ बुझाइसकेको जाहेरीमा लेखिएको छ । सो घटनाबारे चार दिनपछि मंसिर १८ गते प्रहरीमा जाहेरी परेको थियो । ढिलो जाहेरी दिनुमा सिद्दिकी समूहले ज्यान मार्ने धम्की दिएको जाहेरीमा उल्लेख गरिएको छ ।

उता सिद्धिकीले उद्योगी राठी कम्पनीको लगानकर्ता भएकोले रकम असुली गरेको प्रहरी बयानमा स्वीकार गरेका छन् । कम्पनीको एक करोड रूपैयाँ लागत पूँजी हुँदा राठीले लगानी गरेकोमा अहिले कूल पूँजी ७ करोड रूपैयाँ पुगेको मिडिया सञ्चालक सिद्धिकीको दाबी छ ।

सो घटनाबारे जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, प्रदेश १ का प्रहरी प्रमुख डीआइजी सुदीप गिरी, जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक श्रेष्ठले घटनाबारे सुक्ष्म अध्ययन अनुसन्धान भइरहेको बताएका छन् ।

उद्योगी व्यवसायीहरूले सोमबार नै प्रमुख जिल्ला अधिकारीलाई भेटेर आरोपित व्यक्तिलाई कारबाही गर्न माग गरेका थिए ।

राठी नेकपा (एमाले) प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार हुन् । त्यस्तै सिद्दिकी सिरहा–४ घर भई केही समयदेखि विराटनगरमा बस्दै आएका छन् र सो मिडिया केही अघिदेखि विराटनगरबाट सञ्चालनमा ल्याइएको हो ।

सिद्दिकी समूहले बन्धक बनाउने क्रममा आफूमाथि कुटपिट गरेको र कुटपिटपछि करङमा चोट लागेको उद्योगी राठीको भनाइ छ । आरोपित समूहले सिक्रीले बाँधेर बन्धक बनाएको प्रहरीमा राठीले दिएको जाहेरीमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु