सञ्चालनमा आएको छोटो अवधिमै एबीसी उद्योगको व्यापारमा उछाल, एक अर्ब ऋण लिँदै



काठमाडौं । सञ्चालनमा आएको छोटो अवधिमै एबीसी उद्योग प्रालिको आम्दानीमा उछाल आएको छ ।

कम्पनीले सन् २०२२ को चार महिनाको अवधिमा १ अर्ब ४४ करोड १० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको जनाएको छ।

कम्पनीले सन् २०२२ को मेबाट व्यवसायिक रुपमा बिक्री वितरण सुरु गरेको थियो । कम्पनीले १३.८० प्रतिशत क्षमतामा सञ्चालन हुँदा पहिलो दुई महिनामा २ करोड ३७ लाख रुपैयाँ पामोलिन तेलबाट मात्रै आम्दानी गरेको थियो । जसमा कम्पनीले ३.६५ प्रतिशतले नाफा कमाएको थियो ।

त्यसैगरी, चार महिनाको अवधिमा पामोलिन र भटमास तेलबाट मात्रै साढे एक अर्ब व्यापार गरेको जनाएको छ । त्यस्तै, कम्पनीले १२ हजार मेट्रिक टन सन्फ्लावर तेल उत्पादनका लागि उद्योग निर्माण कार्य अगाडि बढाएको छ ।

कम्पनीले तेल उत्पादनका लागि आवश्यक विभिन्न प्रकारका कच्चा पदार्थ अर्जेन्टिना, ब्राजिल, मलेसिया, इन्डोनेसियाबाट आयात गर्दै आएको छ ।

कम्पनीले विभिन्न देशबाट आयात गर्दै प्रशोधन गरी कम्पनीले आन्तरिक बजारमा बिक्री वितरणसँगै निर्यात पनि गर्दै आएको छ।

पाँच जना सञ्चालक समिति रहेको कम्पनीको अध्यक्ष सन्जय कोइराला हुन् । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि २७ करोड १ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७३ करोड रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु