भरतमोहन अधिकारी फाउण्डेसन र नाफिजको सहकार्यमा २ आर्थिक पत्रकारलाई पुरस्कृत गरिने



काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भरतमोहन अधिकारी स्मृती फाउण्डेसनको आर्थिक सहयोगमा २ आर्थिक पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।

नाफिजले फाउण्डेसनको सहयोगमा ‘भरतमोहन अधिकारी – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी – नाफिज सहकारी पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको हो ।

नाफिजका अध्यक्ष मोदनाथ ढकाल र फाउण्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मंगलबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरकर्ता अधिकारी पूर्व अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीकी पुत्री हुन् ।

नाफिज सक्रिय आर्थिक पत्रकारहरुको छाता संस्था हो । फाउन्डेसनको सहयोगमा नाफिजले आर्थिक तथा सहकारी बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्याउने हेतुले पुरस्कार प्रदान गरिने भएको हो ।

पुरस्कारले स्वस्थ तथा खोजमुलक आर्थिक पत्रकारितालाई प्रबद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

यो वर्षको ‘भरतमोहन अधिकारी – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी – नाफिज सहकारी पत्रकारिता पुरस्कार’ मंसिर २८ गते नाफिजको छैठौं महासभाको विशेष समारोहमा ५०–५० हजार रुपैयाँको दरले २ जनालाई प्रदान गरिनेछ । पुरस्कार छनोटका लागि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी ३ सदस्यीय कार्यदल गठन गरिनेछ ।

फाउण्डेसन र नाफिजबीच भविष्यमा यस्तै पुरस्कार प्रदान गर्न अक्षय कोष स्थापना गर्ने सहमति पनि भएको छ ।


क्लिकमान्डु