सुकुम्बासी बस्ती हटाउने महानगरको अभियानमा साथ दिन भन्दै बुझाइयो ज्ञापनपत्र



काठमाडौं । थापाथलिस्थित बागमती नदी किनारामा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई हटाउन माग गर्दै काठमाडौं महानगरमा ज्ञापनपत्र पेस भएको छ ।

अधिवक्ता जुजुकाजी महर्जनसहितका व्यक्तिहरुले मंगलबार महानगरका मेयर बालेन्द्र शाहलाई सम्बोधन गर्दै ज्ञापनपत्र बुझाएका हुन् । सुकुम्बासी बस्ती हटाउने महानगरको अभियानलाई नरोक्न उनीहरुले आग्रह गरेका छन् ।

बागमती किनारा अतिक्रमण गरी आफूखुशी मनलागी, अशोभाविक एवं अनियन्त्रित कथित सुकुम्वासीहरुको बसोबासले संगै रहेको खोलाको प्रदुषण, राजधानीको सौन्दर्य समेतमा प्रतिकूल असर पारिरहेको र तिनीहरुको अस्तव्यस्थ बसोबासले गर्दा अनेक राजनैतिक, सामाजिक, सांस्कृतिक विकृति, विसंगती एवं दिउसै खुल्ला रुपमा घरेलु हातहतियारको प्रदर्शनी कारण समेतले राजधनी भयावह, असुरक्षित तथा सन्त्रासमय वातावरण बनेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

‘स्थानीय जनताहरु प्रति गहिरो मानसिक दबाब उत्पन्न भई अशान्ति फैलिई राजधानीमा अमनचैन समेत खलबलिएकोले सो कार्यलाई व्यवस्थित र मर्यादित गर्न यस काठमाडौं महानगरपालिकाका प्रमुख/उपप्रमुख एवं नगर प्रहरी लगायत संपूर्ण महानगरपालिकाका समग्र कर्मचारीहरुबाट जतिसुकै कष्ट, यातना झेल्नु परे पनि आफ्नो कर्तव्य र दायित्वबाट एक इन्च पनि नहटी सो कथित सुकुम्वासीको घर टहरा हटाई राजधानीको सौर्न्दता, सुशान्ति र मैत्रीपूर्ण वातावरण कायम गर्ने यहाँहरुको महान कार्यमा हरपल साथ, सहकार्य, सहयोग, समर्थन एवं ऐक्यवर्द्धता जाहेर गर्न’ ज्ञापनपत्र बुझाइएको उल्लेख गरिएको छ ।


क्लिकमान्डु