बुटवलबाट रातारात दाङ सारियो लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय



भैरहवा । लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयसहित मन्त्रालयहरु अस्थायी राजधानी बुटवलबाट दाङ सारिएको छ ।

सोमबार राति अस्थायी मुकाम बुटवलबाट मन्त्रालयका कागजात, कुर्सी, टेबल लगायतका सामग्रीहरु दाङको देउखुरी सारिएको हो ।

पूर्वाधार नबनाइ बुटवलबाट राजधानी दाङ सार्न खोजिएको भन्दै केही प्रदेश सभा सदस्य, कर्मचारी तथा स्थानीय राजनीतिक दलहरुको बिरोधका बाबजुद मुख्ममन्त्रीको कार्यालयसहितका मन्त्रालयका सामानहरु सारिएका हुन् ।

३ वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामान दाङ पुर्‍याइएको हो । बुटवलबाट ल्याइएको सामान मंगलबार बिहान दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा झारिएको छ ।

मुख्यमन्त्री कुल प्रसाद केसीले आफ्नो कार्यकालको अन्तिम मन्त्रिपरिषद् बैठक दाङमै बसाल्ने तयारी गर्दै कार्यालय सार्न लगाएका हुन् । आइतबारबाट मुख्यमन्त्री कार्यालको सम्पूर्ण काम देउखुरीबाट नै हुने जनाइएको छ । त्यस्तै बाँकी मन्त्रालयहरु पनि केही दिन भित्रै बुटवलबाट देउखुरी सार्ने तयारी भएको छ ।

मंसिर ४ मा सम्पन्न प्रदेश सभा सदस्यहरुको शपथ दाङमै गराउने तयारी भइरहको छ । दाङको देउखुरीमा प्रदेश सभा र सचिवालयको भवन निर्माणको अन्तिम चरणमा रहेको जनाइएको छ ।


क्लिकमान्डु